Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the anycomment domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sajhaturahi/samriddi.com/wp-includes/functions.php on line 6121
गेटामा मेडिकल कलेज कि विश्वविद्यालय ? | Samridhi

गेटामा मेडिकल कलेज कि विश्वविद्यालय ?

२०८० असार ६ गते, बुधबार

यही वैशाख २९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगे । गेटामा बनेको मेडिकल कलेजको नयाँ भवनको अवलोकन गर्दै प्रचण्डले भने, ‘सुदूरपश्चिमलाई स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपहार सरकारले दिएको छ’ ।

उनले घोषणा गरेको केही दिनपछि सार्वजनिक गरिएको आगामी वर्षको नीति तथा कार्यक्रममा ‘गेटामा सहिद दशरथ चन्द विज्ञान विश्वविद्यालय स्थापना गरिनेछ’ भनियो । 

त्यही आधारमा सुदूरपश्चिमबासी खुसी देखिए । र, ५ अर्ब ४० करोड बढीको लागतमा बनेका भवनहरूले सार्थकता पाउने आशा जाग्यो । तर, जेठ १५ गतेको अर्थमन्त्री डा. प्रकाश शरण महतको बजेट भाषणमा १०० शय्याको प्रतिष्ठान बनाउने घोषणा गरियो । 

बजेट भाषणबाट विश्वविद्यालयलाई प्रतिष्ठान बनाउन खोजिएको भन्दै लगत्तै चर्को विरोध सुरू भयो । यस कारण, केही दिनदेखि सुदूरपश्चिम अशान्त छ । आइतबार सुदूरपश्चिमभर हडताल गरिएको थियो । आन्दोलनप्रति समर्थन दिनप्रति बढ्दै गइरहेको छ । राजनीतिक दलहरूसमेत आन्दोलनप्रति ऐक्यबद्ध भएर अघि बढिरहेका छन् । 

मेडिकल कलेज, प्रतिष्ठान कि विश्वविद्यालय ?

सुदूरपश्चिममा मेडिकल कलेज स्थापनाको माग आजभन्दा २९ वर्ष अघिदेखिको हो । २०५१ सालमा सुदूरपश्चिममा मेडिकल कलेज खोल्ने घोषणा गरिएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कञ्चनपुरको दैजीमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका थिए । 

त्यसपछि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले आफ्नो पालामा दैजीबाट सारेर पुनर्वास क्षेत्रमा मेडिकल कलेजको शिलान्यास गरेका थिए । 

२०६६ मा तत्कालीन सरकारले गेटामा मेडिकल कलेज निर्माण गर्ने भनेर बजेट विनियोजन गरेको थियो । यद्यपि, लामो समय निर्णयमा मात्र सीमित बन्न पुग्यो । वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन र रूख कटान आदेशमा ढिलाइ हुँदा २०७३ पछि मात्रै पूर्वाधार निर्माणले गति लियो । 

अहिले उक्त क्षेत्रमा ५ अर्ब ४० करोड लागतमा भौतिक संरचना तयार भएको पनि दुई वर्ष पुरा भइसकेको छ । तर, अहिले गेटामा मेडिकल कलेज बन्ने कि विश्वविद्यालय वा प्रतिष्ठान भन्ने विषयले टुङ्गो पाएको छैन । 

160 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal