इन्ट्रान्स तयारी गर्न काठमाडौँ आउन खोज्दै हुनुहुन्छ ? घरमै बसेर हुनसक्छ तयारी

२०८० असार ६ गते, बुधबार

भारतको भेलोर इस्टिच्यूट अफ टेक्नोलोजीमा अध्ययन गरेर फर्किएका २४ वर्षीय क्षितिज रेग्मीले नेपालमा अनलाइनबाट ट्युसन पढाउने उद्देश्यसहित ‘लर्नएरा’ नामक अनलाइन कोर्स प्लेटफर्म सुरु गरेका छन् ।

रेग्मीले आफ्ना केही साथीहरूसँग सहकार्य गरेर विद्यार्थीहरूलाई पर्ने हरेक समस्याको समाधान गर्ने गरी अनलाइनमार्फत पढाउने प्लेटफर्म सुरु गरेका हुन् ।

‘पहिले अनलाइन भनेर रेकर्डेड सामग्री दिने गरिन्थ्यो, तर हामीले लाइभ विद्यार्थीसँग इन्टर्‍यायाक्ट हुने गरी व्यवस्था मिलाएका छौँ’, रेग्मीले भने, ‘कुनै पनि उमेर र कक्षाका विद्यार्थीलाई आवश्यक पढाइसम्बन्धी हरेक विषयको समाधान दिने गरी तयारी गरेका छौँ ।’

उनका अनुसार सुरुवातमा अहिले एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स तयारी कक्षाबाट लर्नएरामार्फत सञ्चालन भइरहेको छ ।

‘एउटा कक्षामा १६ जना मात्र राख्ने गरेका छौँ, यसबाट धेरैभन्दा धेरै इन्टरर्‍याक्टिभ पठनपाठन हुन्छ भन्ने विश्वास हो’, रेग्मीले भने, ‘फिजिकल कक्षामा ७५ देखि सय जनासम्मलाई कोचाकोच गरेर पढाउँदा विद्यार्थीलाई बुझ्न पनि गाह्रो भइरहेको हुन्छ । तर, हामीले थोरै शुल्कमा विद्यार्थीका लागि लाभदायी हुने गरी कक्षा दिइरहेका छौँ ।’

उनका अनुसार हाल १७० जनाले तयारी कक्षा लिइरहेका छन् । ‘तीन महिनापछि एमबीबीएसबाट एमडीको तयारी कक्षा दिन्छौँ, विद्यालय तहमा पनि कक्षाहरू लिन्छौँ’, उनी थप्छन्, ‘लर्नएराको सुरुवात भएसँगै विद्यार्थीले अब तयारी कक्षाका लागि काठमाडौंमै आउनुपर्ने बाध्यता पनि टरेको छ ।’

भौतिक उपस्थितिमा हुने कक्षाका लागि २५ हजारभन्दा बढी लिइने गरेकामा आफूहरूले १४/१५ हजारसम्ममै पढाउने गरेको उनले बताए ।

‘त्यसमाथि यो प्रविधिमार्फत पठनपाठन हुने कुरा भएकाले तल्लो कक्षाहरुमा भर्ना हुने विद्यार्थीलाई १८ हजारको प्याकेजको साथमा २४ हजारको स्मार्ट फोन पनि निःशुल्क दिने तयारी गरेका छौँ’, रेग्मीले भने, ‘सबैले अनलाइन प्लेटफर्मलाई टेस्ट गरुन् भनेर फाइदा नहेरी सेवा दिन खोजका हौँ ।’

माध्यमिक र निम्न माध्यम तहको कक्षामा पढ्ने विद्यार्थीको हकमा लर्नएरा मात्र चल्ने किसिमले  मोबाइल मोडिफाई गरेर दिने तयारी गरिएको रेग्मीले बताए ।

71 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal