राष्ट्रिय कविता महोत्सवमा ३६ मातृभाषाका कविता
नेपाल प्राज्ञ–प्रतिष्ठानले यही आसार ९ गते आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सवमा ३६ वटा मातृभाषाका कविताका आवेदन परेका छन् ।
नेपाली, संस्कृत, डोटेली, वाम्बुले राई, वान्तवा राई, लिम्बु, कुलुङ, अवधी, मगही, मगर (खाम), राजवंशी, उरावँ, मैथिली, ल्होमी, धिमाल, माझी, कठरिया (थारू), पुमा राई, गुरुङ, नाछिरिङ, वायुङ रबाहिङ, सामपाङ, नेपालभाषा, चाम्लिङ राई, तामाङ, ताजपुरिया, शेर्पा, थुलुङ, दुङ्माली, खस हुम्ली, घले गुरुङ, भोजपुरी, मध्य पूर्वीय थारू, पूर्वी थारू र थारूलगायतका मातृभाषाका कविता महोत्सवका लागि प्राप्त भएका छन् ।
प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको सूचना अनुसार यो महोत्सवमा ८९२ जना कविले भाग लिएका छन् । सो क्रममा इमेलमार्फत ८४८ जना र आफैँ उपस्थित भई ४४ जना कविले उक्त महोत्सवका लागि आफ्ना कविता दर्ता गराएका हुन् ।
विसं २०१६ मा स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठानले २०२२ सालदेखि राष्ट्रिय कविता महोत्सवको आयोजना गर्दै आएको छ । ५८ वर्षे प्रज्ञाको इतिहासमा समावेशी कविता महोत्सव गरेको यो पहिलो पटक हो । यसअघि नेपाली भाषामा मात्र कविताको आह्वान गर्दै आएको प्रज्ञा कविता महोत्सवमा पछिल्लो दशकयता भाग लिने कविको सङ्ख्या निरन्तर खस्किरहेको थियो । यस पटक सबै मातृभाषीले आआफ्नै मातृभाषामा समेत कविता लेखी महोत्सवमा भाग लिन पाउने व्यवस्था गरेकाले अत्यधिक कविले भाग लिएको दाबी प्रज्ञाले गरेको छ ।
५८ वर्षे लामो राष्ट्रिय कविता महोत्सवको परम्परा र प्रतियोगितात्मक ढाँचालाई परिवर्तन गरेर यस पटकदेखि प्रज्ञा प्रतिष्ठानले समावेशी सहभागितामूलक सिद्धान्तअनुसार सबै नेपाली भाषा र मातृभाषाका कविताहरूलाई आह्वान गरिएको जारी सूचनामा भनिएको छ ।
यो महोत्सवका लागि मातृभाषामा कविता आह्वान गर्दा धेरै साहित्यकारहरूले कविता महोत्सवलाई खिचडी बनाएको भन्दै विरोध गरेका थिए ।
‘सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने नाराका साथ प्रज्ञा–प्रतिष्ठानलाई सारा नेपालीको साझा थलो बनाउने उद्देश्यले समावेशी कविता महोत्सव आयोजना गरिएको सूचनामा उल्लेख छ ।