गेटामा मेडिकल कलेज कि विश्वविद्यालय ?
यही वैशाख २९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगे । गेटामा बनेको मेडिकल कलेजको नयाँ भवनको अवलोकन गर्दै प्रचण्डले भने, ‘सुदूरपश्चिमलाई स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपहार सरकारले दिएको छ’ ।
उनले घोषणा गरेको केही दिनपछि सार्वजनिक गरिएको आगामी वर्षको नीति तथा कार्यक्रममा ‘गेटामा सहिद दशरथ चन्द विज्ञान विश्वविद्यालय स्थापना गरिनेछ’ भनियो ।
त्यही आधारमा सुदूरपश्चिमबासी खुसी देखिए । र, ५ अर्ब ४० करोड बढीको लागतमा बनेका भवनहरूले सार्थकता पाउने आशा जाग्यो । तर, जेठ १५ गतेको अर्थमन्त्री डा. प्रकाश शरण महतको बजेट भाषणमा १०० शय्याको प्रतिष्ठान बनाउने घोषणा गरियो ।
बजेट भाषणबाट विश्वविद्यालयलाई प्रतिष्ठान बनाउन खोजिएको भन्दै लगत्तै चर्को विरोध सुरू भयो । यस कारण, केही दिनदेखि सुदूरपश्चिम अशान्त छ । आइतबार सुदूरपश्चिमभर हडताल गरिएको थियो । आन्दोलनप्रति समर्थन दिनप्रति बढ्दै गइरहेको छ । राजनीतिक दलहरूसमेत आन्दोलनप्रति ऐक्यबद्ध भएर अघि बढिरहेका छन् ।
मेडिकल कलेज, प्रतिष्ठान कि विश्वविद्यालय ?
सुदूरपश्चिममा मेडिकल कलेज स्थापनाको माग आजभन्दा २९ वर्ष अघिदेखिको हो । २०५१ सालमा सुदूरपश्चिममा मेडिकल कलेज खोल्ने घोषणा गरिएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कञ्चनपुरको दैजीमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका थिए ।
त्यसपछि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले आफ्नो पालामा दैजीबाट सारेर पुनर्वास क्षेत्रमा मेडिकल कलेजको शिलान्यास गरेका थिए ।
२०६६ मा तत्कालीन सरकारले गेटामा मेडिकल कलेज निर्माण गर्ने भनेर बजेट विनियोजन गरेको थियो । यद्यपि, लामो समय निर्णयमा मात्र सीमित बन्न पुग्यो । वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन र रूख कटान आदेशमा ढिलाइ हुँदा २०७३ पछि मात्रै पूर्वाधार निर्माणले गति लियो ।
अहिले उक्त क्षेत्रमा ५ अर्ब ४० करोड लागतमा भौतिक संरचना तयार भएको पनि दुई वर्ष पुरा भइसकेको छ । तर, अहिले गेटामा मेडिकल कलेज बन्ने कि विश्वविद्यालय वा प्रतिष्ठान भन्ने विषयले टुङ्गो पाएको छैन ।