अलिबाबा समूहका अध्यक्ष र सीइओ परिवर्तन हुँदै
चिनियाँ व्यवसायिक समूह अलिबाबामा कम्पनी पुनर्संरचनासँगै ड्यानियल झाङले अध्यक्ष र सीईओको दुवै पद छाड्ने भएका छन्। सीइओ रहँदै ज्याक माको बहिर्गमनपछि सन् २०१९ मा अध्यक्ष पद पनि पाएका उनले कम्पनी नछाडी कार्यक्षेत्र मात्रै परिवर्तनको घोषणा गरेका हुन्।
कम्पनीले हाल कार्यकारी उपाध्यक्ष रहेका सहसंस्थापक जोसेफ साईलाई अध्यक्ष नियुक्त गरिने घोषणा मंगलबार घोषणा गरेको छ।
अलिबाबाको ई-कमर्स प्लेटफर्म ताओबाओ र ट्माल ग्रुपका अध्यक्ष एडी वूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनेछन्। उनी सीईओसँगै कम्पनीको बोर्ड अफ डाइरेक्टरमा पनि समावेश हुनेछन्।
चिनियाँ टेक जायन्ट कम्पनीका अनुसार यी दुवै नियुक्तिहरू आगामी सेप्टेम्बर १० बाट लागू हुनेछ। यो संरचनात्मक परिवर्तनपछि झाङ अलिबाबाको क्लाउड इकाइको अध्यक्ष र सीइओको रूपमा आबद्ध हुनेछन्।
कम्पनीको क्लाउड इकाइ स्पिन-अफको नेतृत्व सम्हाल्ने तयारीमा रहेका झाङले भने, ‘अलिबाबा क्लाउड इन्टेलिजेन्स समूहको महत्त्वलाई ध्यानमा राख्दा यो मेरो लागि संरचनात्मक परिवर्तन ल्याउन सही समय हो।’
जेनेरेटिभ एआईको उदयले कम्पनीको क्लाउड व्यवसायको लागि ‘रोमाञ्चक नयाँ अवसरहरू’को ढोका खोलिदिएको झाङले बताएका छन्। अलिबाबाका सहसंस्थापक समेत रहेका वूले सन् १९९९ मा कम्पनीको स्थापनामा टेक्नोलोजी निर्देशकको रूपमा काम गरिसकेका छन्।
‘म अलिबाबा ग्रुपको बोर्ड अफ डाइरेक्टरको विश्वासका लागि आभारी छु र सीइओको रूपमा डेनियलको उत्तराधिकारी हुन पाउँदा सम्मानित महसूस गरेको छु,’ वूले भने, ‘हालको रूपान्तरणले संरचनात्मक परिवर्तन ल्याए पनि अलिबाबाको उद्देश्य भने अपरिवर्तित रहनेछ।आफ्नो २४ वर्षको इतिहासमा सबैभन्दा ठूलो पुनर्संरचना घोषणा गरेको केही महिनापछि नै कम्पनीले नेतृत्व परिवर्तनको घोषणा गरेको हो।
कम्पनीले क्लाउड, ई-कमर्स, लोजिस्टिक, मिडिया र मनोरन्जन सहित ६ वटा छुट्टै एकाइहरूमा विभाजन गर्ने घोषणा गत मार्चमा गरेको थियो। प्रत्येक एकाइको आफ्नै सीईओ र बोर्ड निर्देशकहरूद्वारा निरीक्षण गरिनेछ।
झाङलाई कम्पनीमा आबद्ध भएको आठ वर्षपछि मे २०१५ मा अलिबाबाले सीइओको रूपमा नियुक्त गरेको थियो। २०१९ सेप्टेम्बर १० मा उनले ज्याक मालाई कार्यकारी अध्यक्षको रूपमा प्रतिस्थापित गरेका थिए। ज्याक मा आफ्नो जन्मदिन र कम्पनीको २०औं वार्षिकोत्सवमा कम्पनीबाट बिदा भएका थिए।
अलिबाबा चीनको सबैभन्दा ठूलो ई-कमर्स कम्पनी हो, जसले आफ्न ताओबाओ र ट्माल प्लेटफर्महरूमा वार्षिक ९०० मिलियनभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू भएको दाबी गर्दै आएको छ। यसले चीनको सबैभन्दा ठूलो क्लाउड कम्प्युटिङ र डिजिटल भुक्तानी प्लेटफर्महरू पनि सञ्चालन गर्दछ।
(एजेन्सी)