गर्मीमा स्वस्थ रहन के खाने ?
हामीले खाने खाना कत्तिको सन्तुलित छ, हामीले कहिल्यै विचार गर्ने गरेका छौँ? एकातिर खाना नपाएर वर्षेनि मानिसहरु मुत्युको मुखमा पुगिरहेका छन्। कोही कुपोषण भएर अस्वस्थ जीवन जिउन बाध्य छन्। अर्कोतिर थुप्रै मानिस धेरै खाना खाएर मोटोपनको सिकार भइरहेका छन्।
त्यसबाट बच्नका लागि स्वस्थ आहार खानु पर्छ। जुन खानपानले हामीलाई स्वस्थ राख्न मद्दत गर्छ। सन्तुलित भोजन भनेको हामीले खाने कुरामा सबै पोषक तत्वहरु मिसाएर सही मात्रामा खानु हो। त्यस्ता तत्वहरु कम पनि हुनु हुँदैन र बढी पनि हुनु हुँदैन।
सन्तुलित भोजनमा कार्बोहाइड्रेटको मात्र ५० देखि ६० प्रतिशत हुनुपर्छ, प्रोटिन १५ देखि २० प्रतिशत, फ्याट २५ देखि ३० प्रतिशत हुनु पर्छ।
गर्मीमा के खाने?
गर्मी होस् वा जाडो, सबैभन्दा पहिला सन्तुलित भोजन खानु पर्छ, गर्मीमा पनि आफ्नो शरीरलाई चाहिनेजति सबै सन्तुलित खाने कुराहरु खानु पर्छ तर यसमा विशेष के छ भने गर्मीमा हाम्रो शरीरको तापक्रमभन्दा बाहिरको बढी हुन भएकाले शरीरले शक्ति बढी खर्च गरिरहेको हुन्छ। त्यसैले खानेकुरामा बढी जोड दिनु पर्छ।
गर्मीयाममा पसिना र पिसाबको माध्यमबाट पानी बढी जाने भएकाले डिहाइड्रेसन नहोस् भनेर विशेष सावधानी अपनाउनु पर्छ। त्यसका लागि पानीजन्य पर्दाथ बढी खानु पर्छ।
अन्य बेलाको भन्दा गर्मी मौसममा ३० देखि ३५ एमएल बढी प्रतिकिलो शरीरको तौल अनुसार झोलिलो पर्दाथ खानु पर्छ ।
गर्मी मौसममा पानी वा सर्बत पिउँदा कागती हालेपछि शीतल हुन्छ भनिन्छ तर त्यस्तो भने हुँदैन, चिनी, कागती र पुदिना भनेको स्वादका लागि मात्र हो। गर्मीमा पानी धेरै खानुपर्छ भन्दैमा कोक, फ्यान्टा, फ्रुटीजस्ता चिनी बढी हालेका पेयपदार्थ खानु हुँदैन।
गर्मीमा चिसो हुन्छ भन्दै कोक र फ्यान्टा जस्ता कोल्डड्रिंक्स खाँदा उल्टो असर गर्ने भएकाले त्यसको साटो सादा पानीमा कागती, पुदिना हालेर खान ठिकछ।