सरकार बालुवामा राखेको नक्कली मुलाजस्तो: अध्यक्ष ओली
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिनुभएको छ ।
शनिबार नेपाल निजामती कर्मचारी संगठनको ११औं राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार जरा बिनाको मुला भएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘यो केही होइन, मुलाको पनि अलिकति सानोतिनो भएपनि जरा हुन्छ, यसको त जरा न फरा, पाँच जनाले नियुक्त गरेको छ । केही पनि छैन, टपक्क टिप्यो भने उखेलिन्छ । बालुवामा लगेर राखेको नक्कली मुला ।’
उहाँले सानो मुलाको पनि सानो जरा हुने उल्लेख गर्दै अहिलेको सरकार मात्र पाँच जनाको परमादेशले बनेको सरकार भएको र यसलाई उखेल्ने दिन कुरिरहेको बताउनुभयो ।
ओलीले सरकारलाई उखेल्न लाग्दा भागिरहेको उल्लेख गर्दै आगामी निर्वाचनबाट पूर्ण रूपमा उखेलिने बताउनुभयो । आफ्नो कार्यकालमा नेपाली कांग्रेसका नेताहरूले कर्मचारीहरूलाई सरकारलाई सहयोग नगर्न दबाव दिएको दाबी गर्दै उहाँले उनीहरूको सोच अलोकतान्त्रिक भएको टिप्पणी गर्नुभयो ।
अध्यक्ष ओलीले निजामती कर्मचारीहरूले पूर्ण रूपमा सरकारलाई सहयोग गर्नुपर्ने भन्दै सरकार ठिक बेठिक छुट्याएर नबस्न आग्रह गर्नुभयो । सरकार ठिक बनाउन राजनीतिक पार्टीहरूको जन्म भएको उहाँको भनाइ छ ।
‘आज म अपोजिशन लिडरको हैसियतले भन्दैछु, तपाईंहरूले सरकारलाई असहयोग गर्न मिल्दैन, साथ दिने सहयोग गर्ने हो, गभर्मेण्टलाई ठिक छ कि छैन तपाईंहरूले धेरै छुट्याउने होइन, यसलाई ठिक हामी लगाइहाल्छौं नि’, अध्यक्ष ओलीले निजामती कर्मचारीहरूलाई सम्बोधन गर्दै भन्नुभयो ।
अध्यक्ष ओलीले अहिले सरकारमा रहेका केही मन्त्रीहरू परमादेशबाट झुक्किएर पावरमा पुगेको बताउनुभयो । उहाँले उन्मादले उन्मत्त भएर रेस्लिङमा पस्न लागेझैं गरेर अहिलेका मन्त्रीहरू पावरको आडमा अहंकारी बनिरहेको बताउनुभयो ।
अध्यक्ष ओलीले उन्मत्त चिम्पान्जीहरू कुस्ती खेल्न छाती पिटेझैं अहिलेका मन्त्रीहरू कुस्ती खेल्न जोडी खोजेझैं गरिरहेको बताउनुभयो । उहाँले केही मन्त्रीहरूको काम लोकतन्त्रको हित हुने किसिमको नरहेको भन्दै आगामी निर्वाचनबाट सबै ऐंजेरु उखेलिने बताउनुभयो ।
अध्यक्ष ओलीले अहिले चुनाव जान डराएकाहरू अद्यावधिक चुनावमा जाऔं र नयाँ जनादेशबाट सरकार बनाउँ भन्दा प्रतिगमन भनेर रोइरहेको बताउनुभयो ।
अध्यक्ष ओलीले नेकपा एमालेलाई आगामी निर्वाचनमा पहिलाको जस्तो कमजोर नआँक्न चेतावनी दिनुभयो । उहाँले एमालेले आगामी निर्वाचनमा स्वीप आउट गर्ने दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले एमालेले पाँच वर्ष सरकार सञ्चालन गरेको भए एक्लै ८० प्रतिशत भन्दा बढी भोट ल्याउने दाबी गर्दै चुनावबाट डराउने र एमालेबाट डराउनेहरूले कानून भन्दै रोएर आफ्नो सरकार ढालेको बताउनुभयो ।
ओलीले एमालेलाई अदालतबाट हटाउनेहरूले एमाले सकियो भन्दै गरेको उल्लेख गर्दै एमाले एउटा भेल भएको र भेलमा पस्नेलाई बडारेर लैजाने बताउनुभयो । उहाँले एमालेरूपी भेल पुनः सरकारमा आगामी निर्वाचनबाट आउने दाबी गर्नुभयो ।