बैशाख ३० पछि देशमा माओवादी र समाजवादी समाप्त
काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेलले नेकपा एमाले हिजो, आज र भोलि अब्बल पार्टी भएको बताउनुभएको छ । नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चको अधिवेशनलाई सम्बोधन गर्दै नेता ढुङ्गेलले षडयन्त्रकारीहरू षडयन्त्रको तानाबाना बुनेर बसेको भए पनि त्यसले एमालेलाई कुनै असर नगर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै ढुङ्गेलले भन्नुभयो, ‘एमालेका युवा विद्यार्थीले सडकमा आगो बोकेका कारण वैशाख ३० मा स्थानीय तह निर्वाचन घोषणा भएको हो, त्यतिकै होइन, एमालेका युवा विद्यार्थीको अगाडि सरकारले झुकेर निर्वाचन घोषणा गरेको हो, यस अर्थमा एमालेका युवा विद्यार्थी सम्मानका पात्र छन् ।’
पाँच दलीय गठबन्धनलाई टिकाउन, माधव नेपालका सांसद र सभामुखलाई जोगाउन एमसीसी पास गरेर माधव–प्रचण्डले शेरबहादुर देउवालाई गुन लगाएको उहाँले बताउनुभयो । ‘गठबन्धन टुट्यो भने बैशाख ३० पछि यो देशमा न माओवादी पार्टी रहन्छ, न समाजवादी रहन्छ, न प्रचण्डको कुम हल्लिन्छ, दुवैको पत्ता साफ हुन्छ’, उहाँले भन्नुभयो ।
अहिले प्रचण्ड र माधव नेपाल गठबन्धन बचाउनको लागि शेरबहादुर देउवाले जे जे भन्यो, त्यही त्यही मान्ने अवस्थामा रहेको उहाँले बताउनुभयो । ‘प्रचण्ड र माधव नेपालले शेरबहादुरसँग गरेको याचनाले उहाँहरूले कम्युनिष्ट पार्टीको झण्डा बोक्ने हक गुमाइसक्नु भयो’, उहाँले भन्नुभयो ।
२०५२ सालमा शेरबहादुर देउवालाई टेबुलमा माग पत्र छाडेर जङ्गल पस्नु भएका प्रचण्ड १७ हजार नेपाली जनताको बली चढाएर शेरबहादुरकै वरिपरि घुमिरहेको उहाँले बताउनुभयो । प्रचण्ड देउवासँग लड्डु खाएर बसेको उहाँले टिप्पणी गर्नुभयो ।