चालु आर्थिक वर्षको ७ महिनाको व्यापार घाटा १० खर्ब १५ अर्ब

२०७८ फाल्गुन ११ गते, बुधबार

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामै व्यापार घाटा १० खर्ब १५ अर्ब पुगेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा व्यापार घाटा ३८ दशमलव ४५ प्रतिशतले वृद्धि भएको हो । विभागका अनुसार यस अवधिमा ११ खर्ब ४७ अर्ब बराबरको वस्तु आयात हुँदा जम्मा १ खर्ब ३१ अर्ब बराबरको वस्तु निर्यात भएको छ ।

विभागकाअनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा निर्यातमा ८८ प्रतिशतले सुधार हुँदा आयात ४२ प्रतिशतले वृद्धि भएको छ । विभागका अनुसार यस अवधिमा पेट्रोलियम पदार्थ मात्रै १ खर्ब ८२ अर्ब बराबरको आयात हुँदा ९८ अर्ब ३४ करोड बराबरको फलाम तथा स्टिलजन्य वस्तु आयात भएको छ ।

यस अवधिमा मेसिनरी सामग्री ८८ अर्ब ४८ करोडको, ७६ अर्ब ८२ करोडको इलेक्ट्रिक सामग्री तथा ६९ अर्ब १५ करोड बराबरको सवारी साधन आयात भएको भन्सार विभागको तथ्याङ्क छ । ४८ अर्ब ८३ करोड बराबरको औषधिजन्य वस्तुहरू आयात हुँदा १२ अर्ब १९ करोडको तरकारी तथा फलफुल आयात भएको छ ।

यस अवधिमा चीनसँग १ खर्ब ६७ अर्ब बराबर र भारतसँग ५ खर्ब ५९ अर्ब बराबरको व्यापार घाटा पुगेको विभागले जनाएको छ । माघ मसान्तसम्ममा आयात र निर्यातको वृद्धिदर समेत केही कम भएको छ । पहिलो ६ महिनासम्म शतप्रतिशतले बढेको निर्यात सातौं महिनामा ८८ प्रतिशतले मात्र बढ्दा आयात १ खर्ब ४८ अर्बले मात्रै बढेको छ ।

राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै पुस महिना पछि १८ प्रकारको वस्तु आयातमा कडाइ गरेको थियो । त्यसपछि आयात केही खुम्चिन थालेको हो ।

64 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal