प्रमुख प्रतिपक्षको अवरोधबीच एमसीसी टेबल गर्नु आपत्तिजनक: भीम रावल
काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी सहयता परियोजना (एमसीसी) टेबल गर्न खोजिएकोप्रति आपत्ति जनाएका छन् । रावलले प्रमुख प्रतिक्षको अवरोधबीच एमसीसी टेबुल गर्नु आपत्तिजनक रहेको बताए ।
‘विपक्षी पार्टीले विरोध गरिरहेका बेला एमसीसी कसरी अगाडि बढ्छ ?’, रावलको भनाइ छ, ‘सरकारमा रहेका दलहरुबीच सहमति नभइरहेको अवस्थामा जनताको भावना विपरित टेबुल गरिने कुरा आपत्तिजनक छ ।’ एमसीसीको विरोधमा भइरहेका आवाजलाई बेवास्ता गर्दै एमसीसी टेबल गरिनु गलत रहेको रावलको भनाइ छ ।
बैठकको प्रारम्भमै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बोल्नका लागि समय लिएका छन् । उनले कार्यसूचीमा एमसीसी उल्लेख भएको विषयमा माओवादीको ध्यानाकर्षण भएको जनाउँदै प्रमुख प्रतिपक्षको अवरोधका बीच बैठक अगाडि नबढाउन आग्रह गरेका छन् ।
‘एमसीसीसम्बन्धी कार्यसूचीका विषयमा हाम्रो धारणा प्रष्ट छ । एमसीसीमा राष्ट्रहित प्रतिकूलका प्रावधान रहेका छन् । त्यसलाई संशोधन नगरिएको स्थितिमा सम्झौताबारे प्रक्रिया अगाडि बढाउन हुँदैन भन्ने हाम्रो धारणा छ’, गुरुङले भने ।