विद्यालयको सूचना प्रविधि प्रयोगशालामा आगजनी

२०७८ फाल्गुन ८ गते, आईतवार

सर्लाही । बसबरिया गाउँपालिका–४ धनगढास्थित श्री पञ्चायत आर्दश माध्यमिक विद्यालयको सूचना प्रविधि प्रयोगशालामा अज्ञात समूहले शनिबार आगजनी गरेको छ।

ढोकाको ताल्चा फुटाई गरिएको आगजनीबाट २४ कम्प्युटर जलेर क्षति पुगेको प्रहरीले जनाएको छ। ती कम्प्युटरमध्ये सातवटा पूर्णरूपमा जलेको छ भने अन्यमा आंशिक क्षति पुगेको छ। आगजनी गर्ने समूहले केही थान मोनिटरलगयत केही उपकरणसमेत चोरेर लगेको प्रहरीले जनाएको छ।

यसअघि २०७० सालमा पनि विद्यालयको कार्यालयमा आगजनी गरिएको थियो। साथै‚ एकपटक तल्चा फुटाएर विद्यालयको अफिसमा चोरीसमेत हुँदा विद्यालय प्रशासनले सुरक्षामा कुनै चासो नलिएको स्थानीयवासीको आरोप छ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक नरेन्द्रकुमार मैरवैताले बताए। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा दुई वर्षअघि विद्यालयमा सूचना प्रविधि प्रयोगशालाको स्थापना गरिएको थियो। प्रयोगशाला स्थापनाका लागि २४ कम्प्युटरलगायत आवश्यक उपकरणका साथै विभिन्न सामग्री विद्यालयलाई हस्तातरण गरिएको थियो।

52 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal