लुम्बिनीमा जटिल रोगको उपचार सुविधा निर्देशिका तयार, उपचारमा दुई/दुई लाख रुपैयाँ सहयोग

बुटवल । तीन प्रकारका जटिल रोगको उपचारमा दुई/दुई लाख रुपैयाँ सहयोग गर्नेगरी लुम्बिनी प्रदेश सरकारले निर्देशिका तयार गरेको छ ।
निर्देशिका बनेलगत्तै क्यान्सर, मृगौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने अवस्थाका बिरामीलाई २ लाख रुपैयाँ उपलब्ध गराउनेगरी प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ तयार गरेको हो । बजेटमार्फत ल्याइएको उक्त सुविधाको कार्यान्वयन लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय मार्फत भएको मन्त्रालयका सचिव विकास देवकोटाले बताए ।
उपचार सुविधा पाउने बिरामी लुम्बिनी प्रदेशको बासिन्दा हुनुपर्ने मापदण्ड छ । बिरामीले आफू लुम्बिनीको बासिन्दा भएको सिफारिस पत्र पेश गर्नुपर्ने छ । सिफारिस समितिमा स्थानीय तहको उपप्रमुख वा उपाध्यक्ष संयोजक, प्रमुख प्रशासकीय अधिकृत सदस्य र स्वास्थ्य सेवा महाशाखा वा शाखा प्रमुख सदस्य सचिव रहनेछन् । बिरामीले रकम लिन रोग पहिचान गर्ने चिकित्सकको सिफारिस, उपचाररत भए उपचार गरिरहेको अस्पताल वा स्वास्थ्य संस्थाको नाम, नागरिकताको प्रमणपत्र , सूचिकृत अस्पतालको विवरण लगायत पेस गर्नुपर्ने छ ।
यसअघि संघीय सरकारले जटिल खालका ८ रोगका बिरामीको उपचारमा सुविधा दिन थालेको छ । संघीय सरकारबाट सुविधा लिइरहेका बिरामीले पनि प्रदेश सरकारको उपचार सुविधा पाउने कार्यविधिमा उल्लेख छ ।