फागुन ६ गते एमसीसी संसदमा टेबुल हुने: कानुनमन्त्री बडू

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले आगामी फागनु ६ गते दलहरुबीच सहमति जुटाएर अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेबुल गर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा एमसीसीका सम्बन्धमा दलहरुबीच थप छलफल आवश्यक भएकाले सहमति जुटाएर फागुन ६ गते पेश गर्ने मन्त्री बडूले बताएका हुन् ।
उनले भने, ‘‘छलफलका निमित्त दलहरुका बीचमा केही समय चाहिन्छ भनेपछि दुई दिनमा थप सल्लाह र सहमति जुटाएर फागुन ६ गतेमा पेश गर्ने तयारी छ ।’
आजसम्म नजुटेको सहमति अब दुई दिनमा जुट्छ त भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री बडुले कहिलेकाहीँ एकै रातमा सहमति जुट्ने बताए ।
उनले भने, ‘हुनसक्छ । कहिलेकाहीँ एकै रातमा सहमति हुन् । ६ गते टेबुल गर्ने सहमति बनाउँदैछौं । त्यसका निम्ति आज र भोलिको दिनको प्रतीक्षा गरौं ।’
आज बसेको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेको थियो । तर, सत्तारुढ दल नेकपा माओवादी केन्द्रले एमसीसी संसदमा टेबल गरे सरकारबाट हट्ने चेतावनी दिएसँग सरकार त्यसबाट हटेको बताइएको छ ।