नेपाल–पाकिस्तान हवाई सेवा सञ्चालन गर्न आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पाकिस्तानसँग सीधा हवाई सेवा सञ्चालनको पहल गरिदिन राजदूत शेद हैदर शाह समक्ष आग्रह गरेको छ।
नेपालका लागि पाकिस्तानी राजदूत शाहसँग चेम्बरले सोमबार भेटवार्ता गरेको थियो। भेटमा अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीचको आर्थिक गतिविधि विस्तारका लागि तत्काल हवाई सेवा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए।
‘नेपाल—पाकिस्तान हवाई दूरी तीन घण्टाको मात्रै छ। यसलाई सदुपयोग गर्न सकियो भने दुई मुलुकबीच व्यापार र पर्यटन विस्तार गर्न सकिन्छ,’ उनले भने। नेपाल चेम्बर अफ कमर्स र पाकिस्तान चेम्बर अफ कमर्सबीच उच्चस्तरीय भेटवार्ताको वातावरण बनाइदिन अध्यक्ष मल्लले आग्रह गरे।
पाकिस्तानबाट नेपालले छोकडा, जुत्ता, चप्पलसहित वार्षिक १ अर्ब १४ करोड १९ लाख रुपैयाँबराबरको वस्तु आयात गर्छ। मह, कफी, चिया, हस्तकलाका सामान, अलैंची, आँखाको लेन्स, उनी धागोसहित १० करोड ४ लाखको निर्यात गर्ने गरेको छ। सिधा हवाई सेवाले व्यापार घाटा कम गर्न सकिने अध्यक्ष मल्लले बताए।