संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले भने, ‘एमसीसी पारित गर्नुपर्छ’

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ। मंगलबार बिहान संघीय संसद भवनको ल्होत्से हलमा बसेको बैठकमा एमसीसी टेबल गर्नुपर्ने निष्कर्ष निकालेको हो।
कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले एमसीसी जसरीपनि पास गर्नुपर्ने धारणा राखेका छन्। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘विकास परियोजना हो। एमसीसीको बारेमा धेरै भ्रम छर्नुपर्दैन। पास गर्नुपर्छ।’
प्रधानमन्त्री देउवाले मंगलबार बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबुल गर्नुपर्ने धारणा राखेका थिए। त्यसमा प्रचण्ड र नेपाल करिबकरिब सहमत भएका छन्।
कांग्रेसका अर्का नेता शेखर कोइरालाले पनि एसीसी पास गर्नुपर्ने बताए। कांग्रेस संसदीय दलको बैठकपछि कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले बुधबारको संसद बैठकमा एमसीसी टेबल हुने बताएका छन् । उनले पूर्वअर्थमन्त्री रामशरण महतले एमसीसीबारे कांग्रेसको संसदीय दलको बैठकमा सांसदलाई ब्रिफिङ गरेको जानकारी दिए। उनले भने, ‘सम्भवतस् भोलिको सदनमा एमसीसी पेस हुन्छ ।’
बैठकमा महतले एमसीसीबारे भ्रम सिर्जना गरिएकाले त्यसलाई चिर्नु आवश्यक भएको बताएका थिए। महतले एमसीसीको विरुद्धमा भ्रम सिर्जना गरेर सम्बन्ध बिगार्न नहुने पनि दाबी गरे।
अमेरिकाले फेब्रुअरी २८ सम्म एमसीसीको सम्बन्धमा निर्णय लिन आग्रह गरिरहेको छ। नेताहरूसँगको भेटमा अमेरिकाले केही स्पष्ट सन्देशहरू दिएको पाइन्छ। फेब्रुअरी २८ भन्दा उता कुर्न सकिँदैन। यस सम्बन्धमा सोमबार सभामुख अग्नि सापकोटाले दलहरूसँग परामर्श गरेका छन्।