नेपाली साहित्यकार ताना शर्माको निधन

२०७८ फाल्गुन ३ गते, मंगलवार

काठमाडौँ । नेपाली साहित्यका एक विशिष्ट प्रतिभा तारानाथ शर्मा (ताना) को निधन भएको छ। उनको ८७ वर्षको उमेरमा मंगलबार विहान निधन भएको हो।

लामो समयदेखि डिमेन्सिया (विस्मृति) रोगबाट ग्रसित शर्मा मुटु रोग, उच्च रक्तचाप, मधुमेहसमेतको स्वास्थ्य समस्या झेल्दै आएका थिए। मंगलबार अपराह्न पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने भएको छ। शर्माका दुई छोरा र श्रीमती रहेका छन्।

इलामको बरबोटेमा १९९१ असार ९ गते निर्जला एकादशीका दिनमा जन्मिएका शर्माको संस्कृत शिक्षबाट पठनपाठन आरम्भ भएको थियो।

२०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेल लगायतसँग सहकार्य गरेर झर्रोवादी आन्दोलन चलाएका थिए। नेपाली भाषालाई झर्रोवादी पहिचान दिने र नेपाली आत्मपरक निबन्ध लेखनलाई लोकप्रिय बनाउने श्रेय उनलाई जान्छ। शर्माले ‘बेलाइततिर बरालिँदा’ निबन्ध संग्रहका लागि २०२६ सालमा मदन पुरस्कार पाएका थिए।

‘बेलाइततिर बरालिँदा’, ‘पाताल प्रवास’ जस्ता यात्रापरक निबन्ध संग्रहका लेखक शर्माका नेपाली, अंग्रेजी, भाषा, व्याकरणसहितका १ सयभन्दा बढी पुस्तक प्रकाशित छन्।

60 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal