एमसीसी पास गर्दैमा अमेरिकी सेना आउँदैन: प्रधानमन्त्री देउवा

२०७८ फाल्गुन ३ गते, मंगलवार

काठमाडौं । सरकारले भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा एमसिसी सम्झौता पेश गर्ने भएको छ।

सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसिसी पेश हुनेबारे छलफल भइरहेको बताएको नेता शशांक कोइरालाले बताए।

दलको बैठकपछि नेता कोइरालाले प्रधानमन्त्री देउवाको भनाई उदृत गर्दै भने, ‘एमसिसी नेपालको हितमा छ। अन्य ९ वटा देशमा चलिरहेको छ। त्यहाँ अमेरिकी सेना आएको छैन। एमसिसी पास गर्दैमा अमेरिकी सेना आउँदैन, हस्तक्षेप हुँदैन।’ सबै सांसदहरुले एमसिसी पारित गर्नुपर्नेमा जोड दिएकाले भोलिको बैठकमा पेश हुनसक्ने बताए।

त्यसो त कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले भोलिको बैठकमा एमसिसी टेबल हुने संकेत गरे। बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘भोलिको प्रतिनिधिसभाको बैठकमा एमसिसी पेश हुनसक्छ।’

संसद् बैठक भोलिका लागि आह्वान गरिएको छ। प्रधानमन्त्री देउवाको भोलिको बैठकमा एमसिसी पेश गर्ने तयारी छ। आज बिहानै प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको थियो।

58 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal