एमसीसीका कारण गठबन्धन टुट्दैन: मन्त्री कार्की

२०७८ फाल्गुन २ गते, सोमबार

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीका कारण गठबन्धन नटुट्ने बताएका छन् । हिजो ११औँ विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकारोब)लगायत प्रसारण संस्थाले आइतबार आयोजना गरेको अन्तरक्रियामा उनले सो स्पष्ट पारेका हुन् ।

“गठबन्धन परिस्थिति विशेष उद्देश्यसाथ निर्माण भएको हो । कुनै पनि समस्याको छलफल गरेर समाधान गरिने छ,” उनले भने,“त्यसैले गठबन्धन टुट्दैन ।” सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री कार्कीले यो विशुद्ध आर्थिक परियोजना भएकाले यसमार्फत् मुलुकको आर्थिक विकास हुने र परियोजना स्वीकार्न नसके जलस्रोतको धनी हुँदा पनि नेपाल अन्धकारमा रहनुपर्ने उल्लेख गरे ।

उनले थपे,“यो परियोजना बन्द कोठाबाट आएको होइन । डा.बाबुराम भट्टराई सरकारको पालादेखि यस परियोजनामा सक्रिय योगदान रहँदै आएको छ । एमसीसीबारे संसद्मा छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ ।”

उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, सुशासन, मानवअधिकार, विधिको शासन र सामाजिक रुपान्तरणका लागि रेडियोको योगदान रहेको चर्चा गर्दै स्थानीय एफएम रेडियोले निर्वाह गर्दै आएको भूमिकालाई उच्च प्रशंसा गर्नुपर्ने बताए ।

मन्त्री कार्कीले गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय प्रशारण नियमावली (११औँ संशोधन) स्वीकृत गरेको जानकारी दिँदै नियमावली संशोधन भएकाले अब लामो समयदेखि थन्किएको इजाजत, नवीकरण, रोयल्टीलगायत प्रक्रिया सहज हुने बताए ।

69 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal