गुण एयरलाइन्सको जहाजमा ठोकियो चरासँग, दुर्घटना हुनबाट जोगियो

२०७८ फाल्गुन २ गते, सोमबार

मोरङ । आइतबार साँझ साढे ६ बजे विराटनगरबाट काठमाडौंका लागि उडान भरेको गुण एयरलाइन्समा लाटकोसेरो चरा ठोकिएको छ।

३० सिट रहेको गुण एयरलाइन्सको विमान विराटनगरको धावन मार्ग छाड्ने क्रममा चरा ठोकिएपछि यात्रु लिएर काठमाडौं उडे पनि फर्काएर पुनः विराटनगर विमानस्थलमा सकुसल अवतरण गरेको हो। ७२४ उडान नम्बर रहेको जहाजमा ३० जना यात्रु र ३ जना चालक दलका सदस्य रहेका थिए।

विराटनगर विमानस्थलका प्रमुख उत्सवराज खरेलका आइतबार साँझ साढे ६ बजेतिर काठमाडौंका लागि उडेको जहाजमा लाटकोसेरो ठोकिएपछि पुनः विराटनगरमा अवतरण गरिएको हो। उनका अनुसार जहाजभित्र रहेका यात्रु र जहाज सकुल अवतरण भएको र जहाजमा ठोकिएको चरा मरेको छ।

‘चालक दलका सदस्यसहित ३३ जना यात्रु लिएर उडेको जहाज ५ मिनेट जतिमै पुनः फर्काएर विराटनगरमा सकुशल अवतरण गरिएको थियो,’ विमानस्थल प्रमुख खरेलले भने, ‘जहाजमा ठूलो क्षति पुगेको देखिएको छैन। धावनमार्ग छाड्न साथ जहाजको देव्रेतर्फको इन्जिनको भाग आवश्यकताभन्दा बढी तात्न थालेको थियो। इन्जिन तात्न थालेको थाहा पाए लगत्तै फर्काएर ठूलो दुर्घटना हुन बच्यो।’

सोमबार काठमाडौंबाट इन्जिनियर आएर आवश्यक मर्मत गरेपछि मात्रै जहाज पुनः उडान भर्न पाउँछ। गुण एयरलाइन्स विराटनगरका स्टेसन मेनेजर धर्मराज गिरीले जहाजमा चरा ठोक्किएको पुष्टि गरे पनि आफू कार्यालयभन्दा बाहिर रहेकाले थप जानकारी नभएको बताए।

109 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal