एमाले संसदीय दलको बैठक बस्दै आज

काठमाण्डौ । प्रमुख प्रतिपक्ष नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध ल्याइएको महाभियोग प्रस्तावको प्रतिवाद गर्नेबारे महत्त्वपूर्ण निर्णय गर्ने महासचिव शंकर पोखरेलले बताउनुभएको छ ।
हिजो बेलुकी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय सचिवालय बैठकपछि महासचिव पोखरेलले संसदीय दलको बैठकले यसबारे महत्त्वपूर्ण निर्णय गर्ने बताउनुभएको हो ।
हिजो बसेको सचिवालय बैठकले महाभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षड्यन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको छ । तर प्रतिवाद कसरी गर्ने भन्नेबारे एमालेले केही बताएको छैन । आजको संसदीय दलको बैठकले प्रतिनिधि सभा विघटनको विपक्षमा फैसला गर्ने सर्वोच्चका थप चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावबारे निर्णय गर्न सक्ने अनुमान गरिएको छ ।
हिजोको सचिवालय बैठकले सत्ता गठबन्धनले नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाभियोग प्रस्ताव ल्याएको आरोप पनि लगाएको छ । सत्तागठबन्धनले लोकतान्त्रिक गणतन्त्रविरुद्धका गतिविधि गरेको भन्दै महाभियोगको प्रतिवाद गर्ने र नागरिकलाई यसको विपक्षमा उभिन आग्रह गर्ने एमालेले निर्णय गरेको छ ।
बैठकमा अध्यक्ष ओलीले स्थानीय चुनावलाई पछि धकेल्न र एमसीसी सम्झौता पारित गर्नका लागि सत्तारुढ दलले प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याएको ब्रिफिङ बैठकमा गर्नुभएको थियो।
यसैगरी सर्वोच्च अदालतमा विचाराधीन कतिपय मुद्दाहरुलाई प्रभावित गर्ने र अदालतलाई सत्ताको निर्देशनमा चल्ने संस्था बनाउने सत्तारुढ दलहरुको योजना रहेको पनि ओलीको निष्कर्ष छ।