एमाले उपाध्यक्ष ‘बादल’ले दिए जनयुद्ध दिवसको शुभकामना

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले जनयुद्ध दिवसको शुभकामना दिएका छन्।
२७ औँ जनयुद्ध दिवसको उपलक्ष्यमा शुभकामना दिँदै लेखेका छन्, ‘जनयुद्ध, जनआन्दोलन लगायतका आन्दोलनको क्रममा देश र जनताको मुक्तिको लागि आफ्नो प्राणको आहुति दिनुहुने महान सहिदहरुको स्मरण गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।’ उनले बेपत्ता तथा घाइते योद्धाहरूको योगदानको स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन्।
साविक नेकपाको विभाजनको बेलामा नेता बादल एमालेमै रहेका थिए। माओवादीले जनयुद्ध सुरु गरेको बेलामा बादल प्रचण्ड नेतृत्वमै युद्धमा होमिएको थिए। तर, एमालेसँगको एकतापछि उनी प्रचण्डसँग रुष्ट बनेर एमालेतिरै बसेका थिए।
त्यसो त माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विभाजित माओवादीहरूलाई एकजुट हुन आह्वान गरेका छन्।
२७ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना दिँदै प्रचण्डले भनेका छन्, ‘यस ऐतिहासिक सन्दर्भमा माओवादी जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिहरूमा जनयुद्धका उपलब्धी एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडि बढ्न विशेष अनुरोध गर्दछु।’
छरिएर रहेका माओवादी घटकहरुलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकतावद्ध हुन आग्रह गरेका छन्। परिवर्तनका लागि लडेका शक्तिहरु एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने उनको विश्वास छ।