प्रचण्डले एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भिर नोक्सान पुर्‍याउने गरे: ईश्वर पोखरेल

२०७८ माघ २९ गते, शनिबार

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन्।

पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भिर नोक्सान पुर्‍याउने काममा अध्यक्ष दाहाल लागि परेको बताएका हुन्।

शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै उनले अध्यक्ष दाहालले एमसीसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेर फट्याई गरिरहेको आरोप समेत लगाए।

वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिक पार्टीका नेताहरुले देश र जनताको हित विपरित हुने यस्ता खालका गतिविधिले समाजमा झनै विकृति बढनेतर्फ पनि सचेत गराए। उनले जनताको बीचमा फट्याई कुरा गर्ने नेताहरुलाई चिनेर सचेत गराउन पनि सबैलाई आग्रह गरे।

वरिष्ठ उपाध्यक्ष पोखरेलले सार्वजनिक सम्पत्तिहरु अतिक्रमण हुन नदिन र त्यसको सदूपयोग हुने गरी अघि बढाउनका लागि स्थानीय तहहरुले जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए। त्यस अवसरमा उनले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको हितमा केन्द्रित भएर काम गर्न पनि निर्देशन दिए।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्क, बगैंचालगायतका सार्वजनिक क्षेत्रहरुको सफाईमा ध्यान दिने र त्यसको सदूपयोग गरेर अघि बढने काममा लाग्न स्थानीयबासीलाई आग्रह गरे।

उनले काठमाडौं महानगरपालिकालाई सुन्दर र हराभरा बनाउन आफूहरुले पार्क निर्माण कार्यलाई तीव्रता दिएपनि त्यसको सदूपयोग हुन नसकेको गुनासो गरे। मेयर शाक्यले आफूले जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको दावी समेत गरे।

56 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal