एमालेसँग डराएको गठबन्धन सरकारले हार्ने भएपछि उपनिर्वाचन गरेन: प्रभु साह
रौतहट । पूर्वमन्त्री एवं नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रमू साहले गठबन्धन सरकारले हार्ने डरले उपनिर्वाचन नगराएको आरोप लगाएका छन् ।
गृह जिल्ला रौतहटमा कटहरिया नगरपालिकाद्वारा आयोजित प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै साहले एक वर्षदेखि सासंदविहीन हुँदा पनि सरकारले उपनिर्वाचन नगरेको बताए ।
संविधानतः ६ महिनाभित्र गर्नुपर्ने उपनिर्वाचन नगराएर लोकतन्त्र र संविधानको खिल्ली उडाएको उनको भनाइ छ ।
लोकतन्त्रको महत्वपूर्ण प्रक्रियाको रुपमा रहेको निर्वाचन गराउन पनि आलटाल गरिरहेको भन्दै उनले नेकपा एमाले र जनताको दवावमा गठबन्धनको सरकारले वाध्य भएर स्थानीय तहको निर्वाचन घोषणा गरेको तर्क गरे ।
रौतहट जिल्लाको उदाहरण दिदैँ उनले यहाँको क्षेत्र नम्बर ३ र क्षेत्र नम्बर ३ को प्रदेश ख क्षेत्र सासंंद विहिन हुँदा विकास निमार्ण लगायत जनचासोको विषयहरु सम्बोधन गर्न समस्या आइरहेको जिकिर गरे ।
अर्को एक प्रसंगमा उनले लोकतन्त्रमा जनतानै सर्वोपरी हुनेभन्दै परमादेशबाट बनेको गठबन्धनको सरकारले लोकतन्त्रको लागि हजारौंले गरेको त्याग र बलिदानिको दुरुपयोग गरिरहेको जिकिर गरे ।
‘मधेस प्रदेशमा अहिले लुटतन्त्र मच्चिरहेको छ। चार वर्षदेखि मधेस सरकारले बजेटको चरम दुरुपयोग गर्दै आफ्ना कार्याकर्ता मात्र पोस्ने काम गर्दै आइरहेको छ। त्यसलाई रोक्न हरेक नागरिकले स्थानीय,प्रदेश र संघीय सरकार वजेट खर्चको निगरानी गर्न अत्यावश्यक छ,’ उनले भने ।
उक्त कार्यक्रममा कटहरिया नगर प्रमुख सियाराम कुशवाहा, नेकपा एमाले केन्द्रिय सदस्य एवम् रौतहट इन्चार्ज उपेन्द्र साह, निवर्तमान प्रदेश सांसद तथा नेकपा एमाले केन्द्रिय सदस्य कुन्दन कुशवाहा, नेकपा एमाले मधेस प्रदेश कमिटी सहसचिव आरती भण्डारी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले यस आर्थिक वर्षको ४ महिनाको प्रगति विवरण प्रस्तुत गरेका थिए ।