अतिक्रमित सम्पत्ति फिर्ता ल्याउन नसके एक सेकेण्ड पनि पदमा बस्दैन: मन्त्री आले

२०७८ माघ २९ गते, शनिबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालय अन्तर्गतको अतिक्रमणमा परेका राज्यको सम्पति फिर्ता ल्याउन नसके आफू एक सेकेण्ड पनि मन्त्री पदमा नबस्ने बताउनुभएको छ ।

शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले मातहतका अतिक्रमित सरकारी सम्पति फिर्ता गर्न नसके आफू एक सेकेण्ड पनि पदमा नबस्ने बताउनुभएको हो ।

राज्यको दोहन भएको सम्पत्ति फिर्ता ल्याउनू आफ्नो कर्तव्य भएको उहाँले बताउनुभयो । विगतदेखि नै सरकारी जग्गाहरूमा अतिक्रमण भइराखेको भए पनि सम्बन्धित निकाय टुलुटुलु हेरेर बसेको भन्दै आफूले फिर्ता गराएरै छाड्ने उहाँले बताउनुभयो ।

पदमा बसुन्जेल इमान्दारपूर्वक देशको लागि काम गर्ने मन्त्री आलेले प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री आलेले सरकारी नियुक्ति पाएका कर्मचारीहरूले अन्य व्यक्तिहरूसँग बसेर सेटिङ गरेको भेटिएमा सह्य नहुने पनि चेतावनी दिनुभयो ।

नेपालका क्यासिनोहरूले विगतमा मन्त्रीसँग सेटिङ गरेर कर नतिर्ने गरेको भन्दै उहाँले अहिले मन्त्रालय कर उठाउन लागेको बताउनुभयो । आफूले राम्रो काम गरिरहे पनि केही मिडियाहरू भने आफ्नो विरुद्धमा लागेको भन्दै उहाँले गलत समाचारमा विश्वास नगर्न आग्रह गर्नुभयो । उहाँले मन्त्रालयमा परिवर्तन देखिने गरी काम गर्न निर्देशन पनि दिनुभयो ।

मन्त्री आलेले पुँजीगत खर्चलाई वृद्धि गर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो । पर्यटन मन्त्रालयको पुँजीगत खर्च न्यून भएर शीर निहुराउनुपर्ने अवस्था आउन नदिनेगरी काम गर्न उहाँले निर्देशन दिनुभयो ।

62 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal