राप्रपाभित्र लाचार र अपमानित भएर बस्नुभन्दा नयाँ पार्टी खोल्छु: कमल थापा
मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग्गै रही नयाँ पार्टी स्थापना गर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज शुक्रवार सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले राप्रपा पार्टीमा आफ्नो ३१ वर्षको लगानी रहेको, रगत र पसिना बगाएको प्रसङ्ग पनि उल्लेख गर्नुभयो ।
थापाले पार्टीको महाधिवेशनपछि नयाँ नेतृत्वलाई सहयोग गर्ने चाहना हुँदाहुँदै पनि नेतृत्वलाई सैद्धान्तिक र साङ्गठनिक विषयमा दिएको सुझावलाई बेवास्ता गरेकाले नयाँ पार्टी खोल्ने धारणा राख्नुभयो । साथीहरूसँग परामर्श गरेर फागुनको पहिलो हप्तामा नै निर्वाचन आयोगमा पार्टी दर्ता गराउने उद्घोष गर्दै उहाँले नयाँ पार्टीले हिन्दू राष्ट्र, सुशासन र समृद्धिको एजेन्डा बोक्ने बताउनुभयो । नेता थापाले आफूले बोकेको विचारलाई अलपत्र पारेर नछाड्ने भन्दै पार्टीभित्र लाचार र अपमानित भएर बस्नुभन्दा अलग्गै पार्टी खोल्नेमा जोड दिनुभयो ।
स्नेह, सद्भाव देखाउने तर माग सम्बोधन गर्न नसक्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्पष्ट पारेको भन्दै नेता थापाले राजालाई साझा अभिभावक र संवैधानिक राजाका रूपमा हेर्न चाहेको बताउनुभयो ।
उहाँले अमेरिकी सहयोग एमसीसी आफैँमा आपत्तिजनक नरहेको र यसका विषयमा आएका प्रश्न र आशङ्का विषयमा सरकारले स्पष्ट पार्नुपर्ने भन्दै आर्थिक सहयोग लिन सकिने एमसीसीबाट कुनै नोक्सानी नहुने धारणा राख्नुभयो । उहाँले यस विषयमा बढीभन्दा बढी राजनीतिक दललाई सहमति गराएर पास गर्नुपर्ने विचार व्यक्त गनुभयो ।