सरकारका कारण विदेशीको चर्को दबाब सहनुपरेको ओलीको टिप्पणी

२०७८ माघ २८ गते, शुक्रबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको गतिविधिको कारण विदेशीको चर्को दबाब सहनुपरेको टिप्पणी गरेका छन् । उनले आज थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बोल्दै देश शक्ति राष्ट्रको खेलमैदान बन्ने खतरा भएको समेत बताए ।

‘शक्तिराष्ट्रको खेलमैदान बन्ने र त्यस ढंगले नेपालले चर्को दबाब सहनुपर्ने अवस्था बनेको छ,’ एमसीसीबारे अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूको दबाबप्रति संकेत गर्दै ओलीले भने,‘आफ्नो सार्वभौमसत्ता, स्वाधिनता रक्षाका साथ स्वतन्त्र र्ढंगले चल्नसक्ने न्यायको पक्षमा चल्नसक्ने परराष्ट्रनीतिको वातावरणलाई कमजोर पार्ने प्रयास सरकारले बनायो ।’

सरकारले छिमेकसँगको सम्बन्ध बिगारेको उनको आरोप थियो । ओलीले चीनसँगको सीमा समस्याबारे सरकारले छानविन कमिटी बनाएर प्रतिवेदन तयार गरेकोमा असन्तुष्टि पोख्दै भने,‘तथाकथित सीमा विवाद निकालेको छ । जहाँ भूमि मिचएको छ फिर्ता नल्याउने ? जहाँ सीमा विवाद छ त्यसलाई विवाद नभन्ने ?’ सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्दै लगेको आरोप लगाए ।

कालापानीमा भारतले एकतर्फी बाटो बनाएको भन्दै त्यसमा सरकार नबोलेको टिप्पणी गरे । सरकार गैरजिम्मेवार तरिकाले प्रस्तुत भएको आरोप लगाए ।

70 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal