एमसीसीलाई निर्वाचनपछि सार्ने प्रचण्डको प्रस्तावमा ओलीको जवाफ ‘बहुमत छ क्यारे, पास गर्नुस् न ’
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एमसीसीको विषयलाई निर्वाचनपछि सार्ने प्रस्ताव गर्नुभएको छ ।
बिहीबार राति प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको टेलिफोन सम्पर्कमा अध्यक्ष दाहालले निर्वाचनपछि सार्न प्रस्ताव गर्नुभएको हो ।
जवाफमा एमाले अध्यक्ष ओलीले सरकारसँग बहुमत भएकाले पास गर्नेजस्ता गैरजिम्मेवार जवाफ दिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
ओलीले गैरसांसद संसदमा रहँदासम्म संसद चल्न नदिने अडान राख्नुभएको उहाँले जानकारी दिनुभयो ।
त्यसअघि माओवादी अध्यक्ष दाहालले एमसीसी आर्थिक परियोजना मात्र नभएर राष्ट्रिय राजनीतिको मुद्दा बनिसकेको भन्दै सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
अध्यक्ष दाहालले एमसीसीको सन्दर्भमा एमालेको धारणा स्पष्ट गर्न अनुरोध गर्दै राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गर्नुपर्ने बताउनुभएको थियो ।