आज अख्तियार स्थापना दिवस मनाउँदै
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज स्थापना दिवस मनाउँदैछ ।
भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक निकायका रुपमा २०४७ साल माघ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना भएको थियो ।
आयोगको एकतीसौँ वार्षिकउत्सवका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारविरुद्ध सबै सचेत हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले दक्षिण एसियामा नेपाल भ्रष्टाचार नियन्त्रण सूचकाङ्कमा न्यून स्तरमा रहनु गम्भीर चिन्ताको विषय रहेको भन्दै भ्रष्टाचारलाई रोक्न प्रतिबद्ध भएर काम गर्न पनि आयोगलाई आग्रह गर्नुभयो ।
आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारका बहुआयामिक स्वरुप, कारण र प्रभावबारे विधि र प्रविधिमार्फत् आयोगको जिम्मेवारी पूरा गर्ने गरी संस्थागत रणनीतिक योजना तथा कार्ययोजना कार्यान्वयनमा रहेको बताउनुभएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा परेका २४ हजार १ सय ९० उजुरीमध्ये १५ हजार ५ सय ४७ उजुरी फर्स्यौट गरेको छ । यस अवधिमा फर्स्यौट भएका उजुरी प्रतिशत दर ६४ दशमलव २७ प्रतिशत रहेको छ।
अख्तियारको वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा धेरै भ्रष्टाचार स्थानीय तहमा देखिएको छ । अख्तियारका अनुसार स्थानीय तहमा ३२ दशमलव ८३ प्रतिशत उजुरी रहेका छन् । भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा नेपाल एक सय १७औँ स्थानमा छ।
विश्वका विभिन्न देशमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्स्परेन्सी इन्टरनेशनलले माघ ११ गते सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२१ मा नेपालले सयमा ३३ अङ्क पाएको छ । अघिल्लो वर्ष पनि नेपाल यही स्थानमा थियो।