कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । समिति गठन भएपछि बिहीबार पहिलोपटक बसेको बैठक आज पनि निरन्तर जारी रहने भएको हो । बैठक दिउँसो २ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।
बैठकमा खासगरी स्थानीय तहको निर्वाचन, एमसीसी, पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुको महाधिवेशन लगायतका विषयमा छलफल गर्ने अजेन्डा रहेको छ । बैठकमा नेताहरूको बोल्ने क्रम नसकिएकाले आज पुनः बस्न लागेको प्रवक्ता महतले बताउनभयो । बैठकको पहिलो दिन बोल्ने सदस्यहरुले एससीसी परियोजना, स्थानीय तहको निर्वाचन, भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन लगायतका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
पहिलो दिनको बैठकमा गोपालमान श्रेष्ठ, डा शशांक कोइराला, सुनील थापा, उमा रेग्मी विजयकुमार गच्छदारलगायत १२ जना नेताहरुले आफ्नो धारणा राखेका थिए । हाल कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति ३७ सदस्ययीय छ । बैठकमा अधिवेशन बाँकी रहेका १६ जिल्ला र केही क्षेत्रीय समितिको अधिवेशनका विषयमा पनि छलफल भइरहेको छ ।