प्रतिपक्षको मुख ताक्ने गठबन्धन सरकार सबैभन्दा असफलः सचिव रायमाझी

२०७८ माघ २७ गते, बिहीबार

हरि आचार्य, कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव टोप बहादुर रायमाझीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने नगर्ने भन्नेबारे पहिला सरकारले साझा धारणा बनाउन आवश्यक रहेको बताउनुभएको छ । नेकपा (एमाले) अर्घाखाँचीे शितगंगा नगरपालिका वडा नं. १३ वडा कमिटिद्धारा आयोजित कपिलवस्तुको बाणगंगा २ नन्दनगरमा सम्पन्न कार्यकर्तासंग प्रशिक्षणात्मक अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै सचिव रायमाझीले यस्तो बताउनुभएको हो । सचिव रायमाझीले देशकै ठुलो पार्टी एमाले प्रमुख प्रतिपक्ष दल भएकाले पहिला ५ दलीय गठबन्धन सरकारले साझा धारणा बनाए पछि एमालेले पनि पार्टीका नेता तथा कार्यकर्ताहरुको चाहाना अनुसार आधिकारीक धारणा ल्याउने दाबि गर्नुभयो ।


उहाँले एमाले पार्टी एकताको निरन्तरता भएको बताउदै अब सबैजना स्थानीय तहको चुनावमा होमिएको बताउनुभयो । रायमाझीले शितगंगा नगरपालिका १३ तथा कपिलवस्तुको बाणगंगाका नेता तथा कार्यकर्ताहरुको जिज्ञासाको जवाफ दिंदै पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकारले साच्चिकै जनताका आधारभुत आवश्यकता पुरा गर्न लागि परेको बताउनुभयो । सचिव रायमाझीले ओली नेतृत्वको सरकारले गरेका उदाहरणीय योजना ध्वस्त पार्न गठबन्धन सरकार तल्लीन रहेको बताउनुभयो ।

त्यस्तै प्रदेश सांसद रामजी प्रसाद घिमिरेले अर्घाखाँचीको शितगंगा नगरपालिका मात्र नभएर सबै पालिकामा अब एमालेले जित हासिल गर्ने दाबि गर्नुभयो । उहाँले देशको मुहार फेर्ने पार्टी एमाले मात्रै रहेकाले एमालेमा प्रवेश गर्नेको लहर लागेको बताउनुभयो ।

एमाले अर्घाखाँची जिल्ला अध्यक्ष पिताम्बर भुसालले पार्टीलाई मजबुत र बलियो बनाउन जिल्ला कमिटिको तर्फबाट गनुपर्ने काममा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले जिल्ला वडा स्तरबाटै प्रशिक्षण गर्न आवश्यक रहेको बताउदै त्यसको ब्यबस्थापन जिल्ला कमिटिले गर्ने बताउनुभयो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका थिए । गणेश कुमार बिसी, श्याम बहादुर बिसी, श्याम बहादुर भाट क्षेत्री लगायत एकीकृत समाजवादी, माओवादी तथा कांग्रेश परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा पुर्व जिल्ला सचिवालय सदस्य एवं नेकपा (एमाले) का युवा नेता बिश्व कार्की, पार्टीका जिल्ला कमिटि सदस्य उमानाथ पौडेल लगायत पार्टीका अर्घाखाँची र कपिलवस्तुका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । पार्टीका अर्घाखाँची जिल्ला वडा कमिटि सदस्य तथा शितगंगा १३ का वडाध्यक्ष दुर्गा बिसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

168 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal