राजेशमानको बालकोट प्रवेशले पर्साको राजनीति तरंगित
वीरगन्ज । मधेश आन्दोलनको एपिसेन्टर बनेको वीरगन्जका दुई हस्ति प्रदिप यादव र राजेशमान सिंह कुनै बेला त्यो आन्दोलनका दुई मुख्य कमाण्डर थिए । प्रदिप यादव अहिले जसपाबाट सांसद छन् भने राजेशमान सिंहले हालै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि पर्साको राजनीति तरंगित भएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट वीरगन्ज महानगरपालिकाको मेयरको उम्मेदवार बनेका सिंहले १२ हजार १६५ मत प्राप्त गरेर तेस्रो स्थानमा थिए । टिकट नपाएपछि लोकतान्त्रिक फोरमबाट मेयर उम्मेदवार बनेका विमल श्रीवास्तवका कारण उनको विजय रोकिएको थियो ।
वीरगन्जका लोकप्रिय नेता राजेशमान सिंह बुधवार एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेको तस्विर सार्वजनिक भएपछि वीरगन्जको राजनीति तरंगित भएको छ । स्थानीय तह निर्वाचन घोषणा भएकै बेला उनी एमाले प्रवेश गर्न लागेको चर्चाले यहाँको राजनीतिक माहौल फेरिएको हो ।
उनले भने अध्यक्ष ओलीसँग सकारात्मक कुरा भएको र चाँडै पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने बताएका छन् । राजेशमानलाई ओलीसँग भेटाउने एमाले वीरगन्ज महानगर कमिटीका उपाध्यक्ष महेस दासले वीरगन्जमा एमालेलाई पाँचौबाट पहिलो शक्ति बनाउने अभियान चलेको बताए ।