प्रधानसेनापति शर्मा धनगढीमा, दार्चुला जाँदै
धनगढी । प्रधानसेनापति प्रभुराम शर्मा सुदूरपश्चिम आज धनगढी आइपुगेका छन्। प्रधान सेनापति शर्मासँगै रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा र उपसचिव पनि धनगढी आइपुगेका छन्।
धनगढीमा उनीहरुले सुदूरपश्चिम सरकारका मुख्यमन्त्री, प्रदेश प्रमुख र आन्तरिक मामिला तथा कानून मन्त्रीसँग भेट तथा छलफल गरेका छन्। भेटमा प्रदेशको सुरक्षा अवस्था लगायत सुरक्षा चुनौती र विपद्को समयको समन्वयका बारेमा छलफल भएको बताइएको छ।
यस्तै सुदूरपश्चिममा सेनाको अबको काम तथा योजनाबारे पनि छलफल गरिएको छ। प्रधान सेनापति शर्मा लगायतको टोली आजै दार्चुला जाने कार्यक्रम समेत रहेको जनाइएको छ।
यसअघि दार्चुलाको तुसारापानीदेखि कोठाधारसम्मको चार किलोमिटर सडक खण्डको ट्र्याक निर्माण कार्यको जिम्मेवारी समेत नेपाली सेनालाई दिइएको थियो।
नेपाल सरकारले माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकबाट सेनालाइ उक्त निर्माण कार्य गराउन स्वीकृति प्रदान गर्ने निर्णय गरिएको थियो।