कमल थापा पार्टीमा फर्कने आशा छ: पूर्वअध्यक्ष जबरा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपतिशम्शेर जबराले पार्टी परित्याग गरेका पूर्व अध्यक्ष कमल थापा पुनः पार्टीमा फर्किनेमा आशावादी रहेको बताउनुभएको छ ।
बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरूसँग बोल्दै पूर्व अध्यक्ष जबराले यस्तो बताउनुभएको हो ।
आफूले थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरे पनि अस्वीकार गरेकोमा दुःख लागेको पूर्व अध्यक्ष जबराले बताउनुभयो । उहाँले पूर्व अध्यक्ष थापाले पार्टी परित्यागको घोषणा गर्नु अनपेक्षित घटना भएको टिप्पणी गर्नुभयो ।
‘यो अनपेक्षित घटना हो । उहाँको धेरै गुनासोहरू सार्वजनिक भइसकेको थियो । तर, हाम्रो कुरा हुँदा यी सबै कुरालाई अलि धैर्य लिएर छलफल गरौं भनेर मैले अनुरोध गरेको थिएँ,’ उहाँले भन्नुभयो ।
‘मेरो अनुरोध अस्वीकार गरी अपर्झट निर्णय आयो, दुःख लाग्दो कुरा हो,’ उहाँले थप्नुभयो, ‘तीनै चरणको निर्वाचनमा पार्टीले गम्भीर भएर सोच्नुपर्छ । उहाँ पार्टीमा पुनः फर्किनुहोस् भन्ने आशा छ ।’
पूर्व अध्यक्ष शम्शेरले आगामी तीनै चरणको निर्वाचनमा पार्टी गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।