गोरु काण्डका अभियुक्तहरु छुटे

२०७८ माघ २७ गते, बिहीबार

उदयपुर । गोरु काटेको अभियोगमा ५ दिनअघि पक्राउ परेका खोटाङ सदरमुकाम दिक्तेलका ३ अभियुक्त हिरासतमुक्त भएका छन्। गत आईतबार साँझ प्रहरीले गोरु काटेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्मा मुढेस्थित दिखुवाबाट पक्राउ गरेको थियो।

पक्राउ परेको भोलिपल्ट जिल्ला अदालत खोटाङबाट ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको प्रहरीले स्थानीय राजनीतिक दलहरुको आग्रहमा उनीहरुलाई रिहा गरेको जनाएको छ। पक्राउ परेका दिक्तेल रुपाकोट मझुवागढी १२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ३५ वर्षीय खगेन्द्र तामाङ र ४० वर्षीय गणेश तामाङ बुधबार साँझ रिहा भएका हुन्।

गोरुको मासु र बन्चरो तथा खुकुरीसहित पक्राउ परेका उनीहरुलाई नेपालको संविधान अनुसार गोरु खाने समुदायलाई पक्राउ गरेकोमा स्थानीयबासीले प्रहरीप्रति असन्तुष्टि व्यक्त गरेका थिए। स्थानीयको मागलाई संबोधन गर्दै जनता समाजबादी पार्टी (जसपा) र नेकपा (माओबादी केन्द्र) का जिल्ला नेता, विद्यार्थी नेता र अगुवाहरुले उनीहरुको रिहा गर्न पहल थालेका थिए।

नेताहरुकै आग्रह र समन्वयमा उनीहरुलाई रिहा गर्न सफल भएको जसपानिकट विद्यार्थी नेता रविन खम्बुले बताए। उनका अनु्सार नेपालको संविधानले देशलाई धर्मनिरपेक्ष राष्ट्र भनेर उल्लेख गरेको भए पनि उ बेलाको मुलुकी ऐन अनुसार गोरु काटेकै बहानामा धरपकड गर्ने, जेलमा सडाउने र दुःख दिने गर्नु संविधानविरुद्ध हो। यो कुरालाई पहिचानबादी पार्टीहरुको पैरवीपछि पक्राउ परेकाहरु छुट्न सफल भएको खम्बुले बताए।

जिल्ला प्रहरी प्रमुख डिएसपी उमेश लम्सालले उनीहरुलाई हिरासतमुक्त गरेर अनुसन्धान जारी राखिएको बताए। ‘उनीहरुमाथि अनुसन्धान जारी छ, खाली तारेखमा रहने गरी हिरासतमुक्त भएको मात्र हो’ डिएसपी लम्सालले भने। रिहा भएका तामाङत्रयलाई स्थानीयहरुले खादा र अविर लगाएर स्वागत गरेका थिए।

80 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal