बालुवाटारमा चर्काचर्की: एमसीसी पास गर्न नसकिने प्रचण्ड-माधवको अडान
काठमाण्डौँ । सत्तारूढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूबीच भएको छलफलमा अमेरिकी सहायता परियोजना (एमसीसी)लाई लिएर चर्काचर्की परेको छ ।
आज प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई बालुवाटार बोलाएका थिए ।
शुरुमै देउवाले नेकपा एसका अध्यक्ष नेपाललाई सोधेका थिए, ‘एमसीसीविरुद्ध आन्दोलन गर्ने निर्णय किन गर्नुभयो रु’ जवाफमा नेपालले भने, ‘यथास्थितिमा एमसीसी संसदमा टेबल गर्न सकिन्न र पास पनि गर्नुहुँदैन, त्यसैले आन्दोलन नै गर्नुपरेको हो ।’
त्यसपछि देउवाले प्रचण्डलाई सोधे, ‘तपाईं एमसीसी प्रति यति धेरै अनुदार किन बन्दै जानुभएको हो रु अप्ठेरो परेको छ, बुझ्नुहुन्न तपाईंहरूले ।’ प्रचण्डले पनि उस्तै जवाफ दिए, ‘चुनावअघि एमसीसी पास हुन सक्दैन । त्यसका लागि अमेरिकासँग थप समय माग्न सकिन्छ । गठबन्धन जोगाउने नाममा हामीले एमसीसी संसदबाट पास हुन दिने कुरा हुँदैन ।’
प्रचण्ड र नेपालको जवाफ सुनेर देउवा झर्किए । उनले बारम्बार आफू अप्ठेरोमा परेको सुनाइरहे । प्रधानमन्त्री देउवाले एमसीसीलाई तत्काल संसदमा पेस गरेर पारित गर्नुपर्ने धारणा राखिरहे ।
पछिल्लो समय एमसीसीको विषयलाई लिएर गठबन्धनमा तनाव बढ्दो छ । प्रधानमन्त्री देउवा एमसीसी तत्काल पारित गर्ने पक्षमा भएपनि माओवादी र समाजवादीले फरक मत राख्दै आइरहेका छन् । ती दुवै पार्टीमा एमसीसी अनुमोदन गर्न नहुने मत बलियो रहेको छ ।
हालै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएको थियो । एमसीसीले पूर्वप्रतिबद्धताअनुसार फेब्रुअरी २८ भित्र सम्झौता संसदबाट अनुमोदन गर्न आग्रह गर्दै पत्र पठाइसकेको छ ।