प्रतिनिधिसभा बैठक फागुन २ गतेसम्म स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आज (बुधबार) दउँसो १ बजेका लागि बोलाइएको बैठक फागुन २ गते दिउँसो १ बजेका लागि सारिएको छ ।
सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनापत्रमा विशेष कारणवश आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक फागुन २ गते बस्ने गरी निर्धारण गरिएको उल्लेख छ ।
यसअघिका बैठक पनि सूचना टाँस गरी स्थगन हुँदै आएका छन् । जानकारी अनुसार मंगलबार कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटालाई टेलिफोन गरी बैठक एक साता सार्न आग्रह गरेका थिए ।
एमसीसीको विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरु एकमत नभएकाले प्रतिनिधिसभाको बैठक सारिएको बताइएको छ । त्यसोत, यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो ।