प्रचण्डलाई भेट्न बिहानै खुमलटार पुगे माधव नेपाल
काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । अध्यक्ष नेपाल माओवादी अध्यक्षलाई भेट्न बुधबार बिहान उनको निवास खुमलटार पुगेको हुन् ।
दुई नेताबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ । एमसीसीको विषयलाई लिएर यतिबेला सत्तारुढ दलहरू विभाजित रहेका छन् ।
एमसीसी संसद्मा टेबल गर्ने विषयमा सहमति हुन नसक्दा बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पनि सारिएको छ । अमेरिकाले फेब्रुअरीको अन्त्यसम्म एमसीसी पारित गर्ने डेडलाइन दिएको छ ।
आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सरकारले प्रतिनिधिसभा बैठकको मिति सार्न आग्रह गरेसँगै संसद सचिवालयले सूचना टाँसेर बैठक स्थगित गरेको हो ।
अब अर्को बैठक फागुन २ गते बस्ने छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सार्न आग्रह गरेका थिए ।