स्थानीय तह निर्वाचन सम्बन्धी ऐन संशोधन गर्नुपर्छ: देव गुरुङ

२०७८ माघ २५ गते, मंगलवार

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का नेता देव गुरुङले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दा स्थानीय तह निर्वाचन सम्बन्धी ऐन संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

मंगलवार नेता गुरुङले कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगावै निर्वाचन गरिसक्नुपर्ने ऐनको व्यवस्था भएकाले बैशाख ३० गते निर्वाचन गर्दापनि कानूनी जटिलता हुन सक्ने बताउनुभएको हो ।

सम्भव भएमा वर्तमान ऐन संशोधन गर्नुपर्ने र संसद अवरोधका कारण ऐन संशोधन सम्भव नभएमा संविधानको व्यवस्था अनुसार कार्यअवधि सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । ऐन र संविधान बाझिएको अवस्थामा मुल कानून भएको हिसाबले संविधानको व्यवस्था अनुरुप नै निर्वाचन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेता गुरुङले राष्ट्रियता र संविधानको रक्षाको निम्ति वर्तमान सत्ता गठबन्धन बनेको उल्लेख गर्दै सो मुद्दाहरु यथावत् रहेकाले स्थानीय निर्वाचनमा पनि गठबन्धन कायम राख्नुपर्ने बताउनुभयो । यद्यपी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा भने सल्लाह गर्न बाँकी नै रहेको उहाँले स्पष्ट पार्नुभयो ।

नेता गुरुङले एमसीसी परियोजना यथास्थितिमा अनुमोदन नहुने स्पष्ट पार्नुभयो । उहाँले सो परियोजना संशोधनसहित राष्ट्रिय सहमतीमा मात्र अगाडी बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । संशोधन नभएसम्म संसदमा टेबुल नहुने उहाँले बताउनुभयो । एमसीसीको विषयमा वर्तमान गठबन्धन रहँदासम्म गठबन्धनमा सहमती गरेर जानुपर्ने उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले गठबन्धनको सहमती बिना एमसीसी परियोजना अगाडी बढाएमा गठबन्धन स्वत्ः समाप्त हुने उहाँले बताउनुभयो ।

54 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal