खेलकुद विधालाई मुलुकको सम्बन्ध विस्तारसँग जोड्ने सरकारको प्रयास

२०७८ माघ २५ गते, मंगलवार

काठमाडौं । सरकारले मुलुकको पहिचान अभिवृद्धि र सम्बन्ध विस्तारलाई खेलकुद विधासँग जोडेर लैजाने सोच अघि सारेको छ। स्वच्छ, व्यावसायिक र प्रविधिमैत्री खेलकुद विकास र विस्तार गर्ने सोचका साथ स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गरी अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको सम्मान अभिवृद्धि गर्दै पहिचान स्थापित गर्ने लक्ष्य राखिएको छ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा। दामोदर शर्माले खेलकुदलाई राष्ट्रिय एकता सुदृढ तुल्याउने र अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रिय पहिचान स्थापित गर्ने प्रमुख माध्यमका रूपमा विकास र विस्तार गर्ने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्दै अघि बढाइने बताए।

उनले भने, ‘खेल विधा एउटा क्रियाकलाप मात्र होइन, राष्ट्रियता र राष्ट्रिय एकता प्रवद्र्धन गर्ने, देशप्रति लगाव एवं अरु देशसँग सम्बन्ध विस्तार गर्ने औजार हो।’

विश्वव्यापी मूल्य, मान्यता र प्रविधिको संयोजनबाट नागरिकलाई रोजगारको अवसर सिर्जना गर्न, खेल पर्यटनका माध्यमबाट दिगो विकासका शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता तथा आर्थिक वृद्धिलगायतका लक्ष्य हासिल गर्न स्थानीय तहदेखि नै खेलकुदको संस्थागत विकास गर्न विभिन्न कार्ययोजना बनाएर मन्त्रालय अघि बढेको छ। व्यक्तिको शारीरिक तन्दुरुस्ती, सामाजिक, मानसिक र संवेगात्मक पक्षको सन्तुलित विकासमा खेलकुदको महत्त्वपूर्ण भूमिका रहन्छ।

विश्वका प्रत्येक राष्ट्र खेलकै माध्यमबाट क्षेत्रीय र अन्तर्राष्ट्रिय समुदायसँग जोडिँदै आएको र नेपाल पनि अन्तर्राष्ट्रिय तथा आफ्नै मौलिक खेल विधाद्वारा विशिष्टता हासिल गरिरहेको सचिव रेग्मीले उल्लेख गरे। विश्वका चर्चित खेल फुटबल, भलिबल, क्रिकेट, जुडो, कराँते, तेक्वान्दोमा समेत मुलुकको पहिचान स्थापित गरेको नेपालले पर्वतीय साहसिक खेल विधामा अरूका सामु अब्बल सावित गरिसकेको छ।

एक–अर्को देशबीचको सम्बन्धलाई दर्बिलो तुल्याउने माध्यमका रूपमा रहेका खेलकुद विधाका माध्यमबाट सम्बन्ध विस्तार गर्न र देशको श्रीवृद्धिका लागि परराष्ट्र, अर्थ, युवा तथा खेलकुद मन्त्रालय, खेलकुद परिषद्, खेल संघ, खेलाडी, प्रशिक्षकको महत्वपूर्ण भूमिका रहनेछ। नेपालले हाल खेलकुद विधाकै माध्यमबाट दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) तथा अरु एशियाली मुलुकसहित अन्तर्राष्ट्रिय जगतमा देशको झण्डा फहराउने र राष्ट्रिय गान घन्काउँदै आएको छ।

तत्तत् देशका खेलाडी स्वयं, मन्त्रालय–मन्त्रालय, खेलकुद परिषद्, विषयगत खेलकुद संघ, समर्थक क्लब (फ्यान क्लब), समर्थक, प्रशिक्षकबाट पनि त्यत्तिकै अग्रसरता र चासोले विश्व खेलकुद क्षेत्रका नवीनतम् अभ्यास भित्र्याउन तथा खेल क्षेत्रबाट आर्थिक समृद्धि हासिल गर्न र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न योगदान पुग्ने सचिव रेग्मी बताउँछन्।

विश्वका कयौँ मुलुकले खेलकुदकै माध्यमद्वारा पहिचान स्थापित गर्न सफल भएकाले नेपाललाई सगरमाथा र गौतम बुद्धका अतिरिक्त साहसिक खेलकुदका माध्यमबाट पनि परिचय स्थापित गर्ने सम्भावना प्रशस्त रहेको तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय प्रशिक्षक दीपेन्द्र ढकाल बताउँछन्।

सरकारले खेलकुद पूर्वाधारको विकास, विस्तार र स्तरोन्नति गर्दै खेलकुद क्षेत्रलाई प्रतिस्पर्धी र व्यावसायिक तुल्याउन तथा सबै क्षेत्रमा खेलकुदलाई मूलप्रवाहीकरण गर्ने उद्देश्य राखेको छ।

खेल क्षेत्रका विकास र विस्तारका लागि पूर्वसर्तका रूपमा खेलाडी पहिचान, पूर्वाधार विकास र प्रतिस्पर्धालाई लिँदै आएको छ। मन्त्रालयले एण्टिडोपिङ, म्याच फिक्सिङ तथा बल टेम्परिङजस्ता गैरकानुनी कार्यलाई निरुत्साहन गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

80 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal