दर्ता भएका ७४ मध्ये लुम्बिनी प्रदेशसभाबाट ६७ विधेयक पारित
बुटवल । लुम्बिनी प्रदेशसभा स्थापना भएको चार वर्षको अवधिमा ६७ विधेयक पारित भएका छन् । प्रदेशसभा स्थापनादेखि अहिलेसम्म दर्ता भएका ७४ विधेयकमध्ये ६७ विधेयक पारित भएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ ।
दर्ता भएका विधेयकमध्ये दुई विधेयक विषयगत समितिमा र एउटा प्रदेशसभा सचिवालयमा विचाराधीन छन् । अन्य चार विधेयकमध्ये प्रदेशसभाबाट एक र प्रदेशसभाको विषयगत समितिबाट तीन विधेयक फिर्ता भएका छन् ।
राष्ट्रिय राजनीति विभाजित भएपछि लुम्बिनी प्रदेशसभामा पनि त्यसको प्रत्यक्ष असर परेको र गठबन्धन सरकार निर्माणपछि लगातार भएको प्रदेशसभाको अवरोधले राजनीतिक सहमति नबन्दा नयाँ विधेयक नआउनाले प्रदेशसभाले ‘बिजनेश’ पाउन सकेको छैन तर अहिले प्रदेशसभा नवौँ अधिवेशन अन्त्यपछि सञ्चालन भएको छैन ।गठबन्धन सरकार बनेपछि आवधिक विधेयकका रूपमा आर्थिक वर्ष २०७८/७९ को सेवा र कार्यका लागि लुम्बिनी प्रदेश प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (दोस्रो) र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (दोस्रो) दुई विधेयकमात्रै पारित भएको लुम्बिनी प्रदेशसभाले जनाएको छ ।