लकडाउन उल्लङ्घन गरेर भोजभतेर गर्ने बेलायती प्रधानमन्त्रीले माफी मागे

२०७८ माघ १८ गते, मंगलवार

एजेन्सी । कोरोना महामारी नियन्त्रणको लागि लगाइएको लकडाउनको उल्लङ्घन गरेर भोजभतेर गरेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले माफी माग्नुभएको छ ।

प्रधानमन्त्री जोनसनले संसदमा सम्बोधन गर्दै आफूबाट गलत काम भएको भन्दै माफी माग्नुभएको बीबीसीले जनाएको छ । लकडाउनका बेला प्रधानमन्त्रीले सरकारी निवास टेन डाउनिङ स्ट्रिटमा मान्छेहरु भेला गरेर भोजभतेर गरेपछि चर्को आलोचना भइरहेको छ ।

प्रधानमन्त्री जोनसनले छानबिन रिपोर्टमा उल्लेख भएका कुरा स्वीकार गरेको र संवेदनशीलतालाई आफूले बुझेको भए राम्रो हुने बताएको खबरमा उल्लेख छ ।

संसदमा जोनसनले भन्नुभयो, ‘हामी सबैले आफूलाई ऐनामा हेर्नुपर्छ, तर यसको मतलब मेरा क्रियाकलाप सबै नियमभित्रै थिए भन्ने होइन ।’ सम्बोधनका क्रममा जोनसनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिट र मन्त्रिपरिषद् भवन सञ्चालनको तरिका बदल्न लागेको र यसले धेरै सुधार ल्याउने पनि बताउनुभएको छ । तर विपक्षी दलले भने प्रधानमन्त्रीले भोजभतेर गरेको विषय लाजमर्दो भएको भन्दै राजीनामा माग गरेका छन् ।

लेबर पार्टीका नेता किर स्टार्मरले प्रधानमन्त्रीलाई लाज पचेको मान्छे भन्दै तत्कालै राजीनामा दिनुपर्ने बताउनुभएको छ । पूर्व प्रधानमन्त्री टेरिजा मेले पनि नागरिकमा कोभिडको नियम लगाएर प्रधानमन्त्रीले भोज गर्दै हिँड्नु गलत भएको भन्दै आफैँले बनाएको नियमबारे जोनसन जानकार थिए कि नजरअन्दाज गरेका हुन् भनेर प्रश्न गर्नुभएको छ।

51 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal