नेपाली टिमले आज मोरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

२०७८ माघ १८ गते, मंगलवार

काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीले आज मरिसससँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

खेल बेलुका पौने पाँच बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ । आजको खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पूर्व घोषित टोलीबाट दुई खेलाडी परिवर्तन गरेका छन् । डिफेन्डर अनन्त तामाङ र मिडफिल्डर प्रशान्त अवस्थीको ठाउँमा मनिष डाँगी र दर्शन गुरुङलाई राखिएको छ ।

यसअघि गएको शनिवार भएको पहिलो खेलमा नेपालले मरिससलाई १–० ले हराएको थियो । नेपालको जितमा विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए । पहिलो मैत्रीपूर्ण खेलमा जित निकालेको नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।

लगातार दोस्रो जित निकाल्न सके फिफा वरीयतामा नेपालको स्थान सुधार हुने प्रशिक्षक अलमुताइरीको विश्वास छ । मरिसस पनि यो खेलमा जित निकाल्दै फर्कने योजनामा छ । कोरोना सङ्क्रमणका कारण पहिलो खेलमा मरिससका मुख्य चार खेलाडीले खेल्न पाएका थिएनन् । तर आज उनीहरुले खेल्नेछन् ।

मरिससका प्रशिक्षक टोनी मारिएले चार खेलाडी खेल्दा टिम थप बलियो हुने बताएका छन् । फिफा वरीयतामा नेपाल एक सय ६९ र मरिसस एक सय ७२औँ स्थानमा छ ।

62 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal