वेष्टइन्डिजका होल्डरले अन्तिम ओभरको ४ बलमा लगातार ४ विकेट लिएपछि इङ्ल्याण्ड पराजित

२०७८ माघ १७ गते, सोमबार

काठमाडौं । इङ्ल्याण्डलाई अन्तिम तथा निर्णायक खेलमा हराउँदै वेष्टइन्डिजले पाँच खेलको टी-२० सिरिज ३-२ ले जितेको छ।

गएराती ब्रिजटाउनमा १८० रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले अन्तिम ओभरमा लगातार चार बलमा चार विकेट गुमाएपछि अन्तिम बल अगावै १६२ रनमा समेटियो।

उसका लागि जेम्स भिन्सले सर्वाधिक अर्धसतकीय इनिङ्स खेले। ३५ बल खेलेका उनले ७ चौका र १ छक्कासहित ५५ रन बनाए। यस्तै साम बिलिङ्सले ४१ रन जोडेका थिए।

टोम बान्टनले १६ तथा कप्तान मोइन अलीले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

इङ्ल्याण्डलाई रोक्न वेष्टइन्डिजका जासन होल्डरले ह्याट्रिसहित कुल पाँच विकेट लिए । उनले १९.२, १९.३, १९.४ र १९.५ ओभरमा लगातार चार विकेट लिए । २.५ ओभरमा २७ रन दिएका होल्डरले कुल ५ विकेट लिए । होसेनले ४ ओभरमा ३० रन खर्चिदै ४ विकेट हात पारे । ओडेन स्मिथको नाममा एक विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन बनाएको थियो। उसका लागि कप्तान किरन पोलार्डले सर्वाधिक ४१ रन बनाएका थिए। रोभमान पोवेलले अभिजित ३५ रन बनाउँदा ब्राण्डन किङले ३४ तथा कायल मायर्सले ३१ रन बनाएका थिए।

यस्तै निकोलस पुरनले २१ रन बनाउँदा रोमारियो ६ रनमा आउट भएका थिए।

इङ्ल्याण्डका लागि आदिल रासिद र लियाम लिभिङस्टोनले समान २-२ विकेट लिएका थिए।

यो सँगै पाँच खेलको टि-२० सिरिज वेष्टइन्डिजले ३-२ ले जितेको हो।

62 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal