सहिदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन: प्रधानमन्त्री देउवा

२०७८ माघ १६ गते, आईतवार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि अहोरात्र सङ्घर्षमा खटिने सहिदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई आज जनताको शासन स्थापित हुनसकेको उल्लेख गर्नुभएको छ ।

सहिद दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उहाँले विसं २००७ को एकतन्त्रीय जहाँनिया राणाशासनविरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलन तथा २०६२र६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनलगायत विभिन्न राजनीतिक परिवर्तन सहिदकै त्याग, तपस्या र बलिदानबाट सफल भएको बताउनुभएको छ ।

मुलुकमा राजनीतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापना गर्ने जोखिमपूर्ण आन्दोलनमा खटिएका सबै सहिद मुलुकका सच्चा सपूत भएको बताउनुभएको छ । “आज हामी जे–जस्तो स्वतन्त्रता र आत्मसम्मानका साथ बाँच्न पाइरहेका छौँ, राज्यको सबै तह र संरचनामा आम नागरिकको जे–जस्तो पहुँच स्थापित हुनसकेको छ, तथा जे–जस्तो शासकीय व्यवस्थाबाट मुलुकलाई अघि बढाइरहेका छौँ त्यो सबै सहिदहरूको योगदानबाट नै सम्भव भएको हो”, उहाँले उल्लेख गर्नुभएको छ ।

उहाँले विसं २००७ को आन्दोलनमा मुलुकमा प्रजातन्त्र स्थापना गर्न ज्यानको आहुति दिने महान् सहिद दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठदेखि विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलनमा आफ्नो अमूल्य जीवन गुमाउनुहुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदमा श्रद्धासुमन अर्पण गर्नुभएको छ । प्रधानमन्त्री देउवाले यस दिवसले सहिदहरूले देखाएको सत्य, न्याय र समानताको बाटोमा हिँड्न तथा उहाँहरूले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

60 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal