देउवा, प्रचण्ड र माधवलाई गोकुल वास्कोटाको आरोपै आरोप
काठमाडौं । नेकपा एमालेका नेता गोकुल वास्कोटाले चुनाव भएमा माओवादी र नेकपा एसको सिट शुन्य हुने भएकाले उनीहरुले चुनाव नचाहेको आरोप लगाउनु भएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले माओवादी र नेकपा एसले चुनाव नचाहेपनि काँग्रेस भने चुनावबाट भाग्न नहुनेमा जोड दिनुभयो ।
समयमै निर्वाचन नगराएमा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाका लागि पनि महंगो पर्ने उहाँले चेतावनी दिनुभयो ।
नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एसले देशभरीको कुनै पनि वडामा एक्लै उठेर निर्वाचन जित्न नसक्ने ठोकुवा पनि उहाँले गर्नुभयो ।
“नेकपा एसले एक्लै उभिएर कुन वडामा जित्दो रैछ लौ हेरौँ त,” एमाले नेता बास्कोटाले भन्नुभयो । एमालेको नामबाट जितेकाहरु अर्कैतिर गएर भोट हालेकाले राष्ट्रिय सभामा गठवन्धनका उम्मेदवारहरु विजयी भएको उहाँको भनाई छ ।