युवा सङ्घको साताव्यापी रक्तदान अभियान सुरु, अध्यक्ष ओली पनि पुगे

२०७८ माघ १३ गते, बिहीबार

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निवास अगाडिबाट बुधबार राष्ट्रिय युवा सङ्घ नेपालले सप्ताहव्यापी खुला रक्तदान अभियान सुरू गरेको छ।

सङ्घले पार्टी अध्यक्ष ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपत्यकामा बढ्दो रगत अभावलाई कम गर्ने उद्देश्यले बुधबारदेखि अभियान सुरु गरेको हो। बालकोटस्थित ओली निवास अगाडिबाट सुरु भएको अभियानअन्तर्गत रक्तदान कार्यक्रममा सहभागीलाई हौसला प्रदान गर्दै उनले राम्रा कामका लागि सधैँ अगाडि बढ्न युवालाई शुभकामना दिए।

कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य एवं सङ्घीय सांसद महेश बस्नेतले युवा रगत मात्रै नभई आवश्यक परे देशका लागि बलिदान गर्न तयार भएको र सधैँ सकारात्मक कामका लागि युवा सङ्घ अगाडि बढ्ने बताए।

त्यस्तै एमालेका पोलिटब्युरो सदस्य एवं सङ्घीय सांसद गोकुल बाँस्कोटाले पनि सहभागीलाई हौसला प्रदान गर्दै अभियानको सफलताको कामना गरे। त्यस अवसरमा अध्यक्ष ओलीलाई नेता बस्नेतले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मायाको चिनो प्रदान गरेका थिए भने बस्नेत र नेता बाँस्कोटाले रक्तदातालाई सङ्घले प्रकाशन गरेको पुस्तक ‘तस्विरमा ओली सरकार’ उपहार प्रदान गरेका थिए।

सङ्घका केन्द्रीय अध्यक्ष किरण पौडेलले बालकोटबाट सुरु भएको रक्तदान कार्यक्रम उपत्यकाका तीन जिल्लाका १५ ठाउँमा सञ्चालन हुने बताए। भक्तपुरको बालकोट र दरबारस्क्वायर ललितपुरको जावलाखेल तथा पुल्चोक, काठमाडौँको बानेश्वर, नयाँ बसपार्क, कोटेश्वर, कलङ्की, माइतीघर मण्डला, न्युरोडलगायतका ठाउँमा रक्तदान अभियान सञ्चालन गरिने उहाँले बताए।

अभियानमा पहिलो दिन ५५ जना रक्तदाताले रक्तदान गरेको राष्ट्रिय युवा सङ्घ नेपाल भक्तपुर जिल्ला कमिटीका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए।

47 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal