लुम्बिनीका तीनै राष्ट्रिय सभा सदस्य जित्यो सत्तारूढ गठबन्धनले
दाङ । लुम्बिनी प्रदेशमा भएको तीन जना राष्ट्रिय सभा सदस्यको चुनाव सत्तारूढ गठबन्धनले जितेको छ। अन्तिम मतपरिणाममा गठबन्धनका उम्मेदवारले ४३७४ मतभार पाएका छन् भने नेकपा एमालेका उम्मेदवारका पक्षमा ३३१२ मतभार पुगेको छ। मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।
कैलाली । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट गरिमा शाह विजयी भएकी छन् । शाह नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत हुन् ।
उनी सत्ता गठबन्धनबाट महिलातर्फकी उम्मेदवार थिइन् । शाह प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन् ।निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेकी छन् ।
जनकपुरधाम । राष्ट्रिय सभाको दुई सदस्य चयनका लागि मधेश प्रदेशमा भएको निर्वाचनको मतगणनाको तयारी थालिएको छ। बुधबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म भएको निर्वाचनमा ९८ प्रतिशतभन्दा बढी मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
कुल मतदाता ३७२ जना रहेकोमा ३ सय ६६ जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए।