राष्ट्रपति भण्डारी र प्रधामन्त्री देउवाले दिए भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना
काठमाडौं । भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा तथा परराष्ट्र मन्त्री डा.नारायण खड्काले शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँहरुले आ–आफ्ना भारतीय समकक्षीलाई छुट्टाछुट्टै पत्र पठाएर शुभकामना व्यक्त गर्नुभएको हो । नेपालको तर्फबाट भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री एस।जयशंकरलाई पत्र पठाइएको हो ।
राष्ट्रपति भण्डारीले भारतीय समकक्षीको सुस्वास्थ्य र खुसियालीको कामना गर्दै भारतको निरन्तर विकास र समृद्धिको कामना गर्नु भएको छ । राष्ट्रपति भण्डारीले भारतको स्वतन्त्रताको ७५ औं वर्षगाँठको अवसरमा पनि बधाई दिनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भारतीय प्रधानमन्त्रीको सुस्वास्थ्यको कामना गर्दै भारतले सामाजिक र आर्थिक क्षेत्रको विकासमा हासिल गरेको प्रगतिको सराहना गर्दै दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नु भएको हो ।
परराष्ट्रमन्त्री खड्काले पनि भारतीय नागरिकलाई शुभकामना व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।