लुम्बिनी विकास कोषको जग्गा व्यापारिक प्रयोजनका लागि दिन खोजेको भन्दै स्थानीयको विरोध
भैरहवा । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको महत्वपूर्ण जग्गा निजी रिसोर्टलाई दिने विषय बाहिर आएपछि त्यसको विरोध हुन थालेको छ । लुम्बिनी गुरुयोजना विपरीत रिसोर्ट बनाउन निजी कम्पनीसँग प्रस्ताव माग गरिएको भन्दै जनस्तरबाटै व्यापक विरोध हुन थालेको हो ।
भैरहवास्थित लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को ४ विघा क्षेत्र मात्र खाली छ । आध्यात्मिक अभ्यासका लागि छुट्याइएको यही जग्गामा व्यावसायिक रिसोट निर्माणका लागि अनुमति दिन लुम्बिनी विकास कोषले प्रक्रिया थालेपछि अहिले त्यसको विरोध हुन थालेको हो ।
पर्यटन मन्त्री प्रेमबहादुर आले अध्यक्ष रहेको लुम्बिनी विकास कोषले व्यवसायी सुरज वैद्यकी छोरीको स्वामित्वमा रहेको कम्पनीसँग मात्र प्रस्ताव मागेको छ । सुरज वैद्य २०६२ को अन्तिमतिर केही महिना लुम्बिनी विकास कोषका उपाध्यक्ष हुनुभएको थियो ।
लुम्बिनी विकास गुरुयोजनाअन्तर्गत ‘न्यु लुम्बिनी ग्राम’ मा ‘क्याम्पिङ ग्राउन्ड’ का लागि छुट्याइएको जग्गामा रिसोर्ट बनाउन कोषमा ५ महिनाअघि प्रस्ताव परेको थियो । ‘सम्सारा वेलनेस रिसोर्ट’ का तर्फबाट सभाना वैद्य बस्न्यातले राखेको प्रस्तावका आधारमा मन्त्री आलेको अध्यक्षतामा गत मंसिर ११ मा बसेको बैठकले सम्सारासँग विस्तृत प्रस्ताव माग गर्ने निर्णय गरेको हो ।
सम्सारा वेलनेसलाई जग्गा दिन लागिएको विषय सार्वजनिक भएपछि लुम्बिनी विकास कोषको आलोचना हुन थालेको छ ।
लुम्बिनीको विकासका लागि लुम्बिनीवासीले जग्गा दिएको बताउँदै विश्व सूचीमा सूचीकृत सम्पदामा व्यापारिक प्रयोजनका लागि रिसोर्ट खोल्न दिए आन्दोलनमा उत्रिने लुम्बिनीका स्थानीयको तयारी छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले गुरूयोजनाको मर्म र भावनाविपरीत लुम्बिनीभित्र हुने कुनै पनि क्रियाकलाप मान्य नहुने बताउनुभयो । रिसोर्ट बने त्यसले नकारात्मक सन्देश दिने भन्दै उहाँले यसले लुम्बिनीका होटल व्यवसाय पनि मर्कामा पर्ने बताउनुभयो ।
लुम्बिनी विकास कोषका योजना प्रमुख इञ्जिनियर सरोज भट्टराईले २र३ वर्षमा लुम्बिनी गुरुयोजना सम्पन्न गर्न काम अगाडी बढाइएको बताउनुभयो । गुरुयोजना पूरा हुन क्याम्पिङ ग्राउन्ड बाँकी भएकाले यसको प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो ।
जापानी आर्किटेक्ट कान्जो टाँगेले सन् १९७८ मा बनाएको लुम्बिनीको गुरुयोजना अझै पूर्णरूपमा सम्पन्न हुन सकेको छैन । कोषले गुरुयोजना विपरित थुप्रै संरचना बनाउँदै आएको छ भने आफूखुशी विहार निर्माणका लागि जग्गासमेत वितरण गर्दै आएको छ ।