रसुवा भन्सारद्वारा ६ महिनामा आयातबाट मात्र दोब्बर बढी राजश्व असुली, निर्यातबाट भने शून्य
काठमाडौं । रसुवा भन्सार कार्यालय टिमुरेबाट साढें ४ अर्ब बराबर राजस्व संकलन भएको छ ।
चालु आर्थिक वर्षको ६ महिना अर्थात् पुस मसान्तसम्म रसुवागढी नाकाबाट भएको आयातबाट ४ अर्ब ३३ करोड रुपैयाँ राजश्व संकलन भएको जनाइएको छ । यहाँबाट निर्यात भने शून्य रहेको छ ।
भन्सार कार्यालयका अनुसार ६ महिनाको अवधिमा ४ अर्ब ३३ करोड ४५ लाख संकलन भएको छ ।
कोभिड महामारी सुरूभएसँगै चिनियाँ पक्षले दैनिक ९ वटा कन्टेनरमार्फत रसुवागढीको मितेरी पुल छेउमा सामान पुर्याउने गरेको छ ।
व्यापारी, व्यवसायी र निजी कम्पनीमार्फत आयात गरिएका सामग्रीमा लाग्ने शुल्कवापतको राजस्व असुली भएको हो । चीनतर्फ जाने निर्यात भने शून्य छ ।
दुई आर्थिक वर्षको राजस्व असुली तुलनात्मकरुपमा हेर्दा यस वर्ष झण्डै साढे दुई गुणाले बढेको छ । गत वर्षको यस अवधिमा १ अर्ब ७२ करोड बराबरमात्र असुली भएको थियो ।
साना–ठूला सबै प्रकारका सवारी साधन, निर्माणाधिन हाइड्रोपावरका उपकरण, स्याउ, ओखर, तयारी पोशाक, जुत्ताचप्पल, बच्चाका खेलौना, रोल कपडा, विद्युतीय सामग्रीजस्ता विविध सामग्री आयात भइरहेको भन्सार कार्यालय जनाएको छ ।